सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । कन्नड सुपरस्टार यश अभिनीत फिल्म ‘टक्सिकः अ फेयरी टेल फर ग्रोन–अप्स’ बुधबारदेखि हलमा प्रदर्शनमा आएको छ। समीक्षक तथा दर्शकबाट मिश्रित प्रतिक्रिया पाए पनि त्यसको असर पहिलो दिनको कमाइमा भने देखिएन। एक्सन थ्रिलर फिल्मले पहिलो दिन भारतमा १०१ करोड १० लाख भारु बक्स अफिस कलेक्सन गरेको थियो। यद्यपि, दोस्रो दिन फिल्मको कमाइमा उल्लेखनीय गिरावट आएको छ।

व्यापार वेबसाइट स्याकनिल्कको तथ्यांकअनुसार बिहीबार राति १० बजेसम्म भारतमा फिल्मले ३६ करोड ४० लाख भारु कमाएको छ। यो पहिलो दिनको तुलनामा ६४ प्रतिशत कम हो। पहिलो दिन फिल्मको अकुपेन्सी ५६.१ प्रतिशत थियो भने दोस्रो दिन घटेर २६.६ प्रतिशतमा सीमित भएको छ।

रोचक कुरा के छ भने कन्नडको तुलनामा फिल्मले हिन्दी भाषी क्षेत्रमा राम्रो प्रदर्शन गरिरहेको छ। हिन्दीपछि फिल्मको तेलुगु संस्करणले राम्रो प्रतिक्रिया पाइरहेको छ। तमिल र मलयालम संस्करणमा भने कमाइ सुस्त देखिएको छ। दुई दिनमा भारतमा फिल्मको कुल कलेक्सन १३७ करोड ५० लाख भारु पुगेको छ।

पहिलो दिन भारतमा १०१ करोड १० लाख भारु कमाएको फिल्मले विश्वभर भने १४० करोड भारुको व्यापार गरेको थियो। ‘टक्सिक’ यसअघि रणवीर सिंह अभिनीत ‘धुरन्धर २’सँग भिड्ने चर्चा थियो। सप्ताहान्त नजिकिएकाले फिल्मले कमाइको गति बढाउने अवसर पाएको छ। व्यापार विज्ञहरूले पहिलो सप्ताहन्तमै फिल्म भारतमा २०० करोड क्लबमा प्रवेश गर्न सक्ने अनुमान गरेका छन्।

रिलिज हुनुअघि नै फिल्मलाई लिएर यशका फ्यान उत्साहित थिए। बुधबार बिहानसम्मको बुकिङअनुसार पाँच दिनमा फिल्मका लागि १८ लाखभन्दा बढी टिकट बिक्री भइसकेका थिए। तर अत्यधिक हिंसा, बोल्ड दृश्य र कमजोर पटकथाका कारण फिल्मले आलोचनासमेत खेपिरहेको छ।

केभीएन प्रोडक्सन र मोन्स्टर माइन्ड क्रिएशन्सको ब्यानरमा निर्मित यो उच्च बजेटको फिल्ममा यश पहिलोपटक दोहोरो भूमिकामा देखिएका छन्। उनले बुबा–छोराको जोडी राया र टिकटको भूमिका निर्वाह गरेका छन्। फिल्ममा कियारा आडवाणी, नयनतारा, हुमा कुरेशी र तापसी पन्नूको अभिनय रहेको छ। ‘टक्सिक’मार्फत यश चार वर्षपछि ठूलो पर्दामा फर्किएका हुन्। यसअघि उनी सन् २०२२ को ब्लकबस्टर फिल्म ‘केजीएफ : च्याप्टर २’मा देखिएका थिए।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com