सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नेपाली चलचित्र क्षेत्रको विकास र अन्तर्राष्ट्रियकरणमा काठमाडौं फिल्म्सले अर्को कदम चालेको छ । आफ्नो उत्कृष्ट प्रोजेक्टहरू मार्फत विश्वभर नेपाली कथाहरू पुर्याउने लक्ष्यसहित अगाडि बढिरहेको यो कम्पनीले हालै आफ्नो चलचित्र ‘बाटो: रोड टु डेथ’लाई विश्वका प्रमुख स्ट्रिमिङ प्लेटफर्महरूमा उपलब्ध गराएको छ । यो चलचित्र नेपालमा गत जेठ ३२ गते रिलिज भएको थियो ।
यो चलचित्र ‘एमाजन प्राइम भिडियो,’ ‘ट्युबी,’ र ‘बुक माई शो स्ट्रिम’ मा स्ट्रिमिङ सुरु भएको हो । ‘एमाजन प्राइम भिडियो’मा युरोप र अमेरिकाका दर्शकहरूको लागि उपलब्ध छ भने निःशुल्क स्ट्रिमिङ सेवा प्रदान गर्ने ‘ट्युबी’मा पनि युरोप र अमेरिकामा यो चलचित्र स्ट्रिमिङ भइरहेको छ । त्यस्तै, दक्षिण एसियामा लोकप्रिय प्लेटफर्म ‘बुक माई शो स्ट्रिम’बाट भारतमा नेपाली भाषामा अङ्ग्रेजी सबटाइटल सहित स्ट्रिमिङ भइरहेको छ ।
साथै, ‘फ्युचर टिभी’ लगायतका अन्य ओटिटीहरुमा विश्वव्यापी दर्शकहरूको लागि चाँडै यो प्लेटफर्ममा चलचित्र उपलब्ध हुने ‘बाटो: रोड टु डेथ’का निर्माता तथा काठमाडौं फिल्मसमा सञ्चालक चन्दन झाले बताए । “हामीले नेपाली चलचित्रलाई विश्वव्यापी बनाउन लामो समयदेखि काम गर्दै आएका छौँ । २ सय भन्दा बढी अन्तर्राष्ट्रिय प्रोजेक्टहरूमा काम गरिसकेपछि नेपाली चलचित्रको गुणस्तर र पहुँच बढाउन केही योगदान गर्नुपर्छ भन्ने महसुस भएपछि ‘बाटो: रोड टु डेथ’ चलचित्र बनाएका थियौँ । विविध कारणले नेपाली बक्स अफिसमा धेरै सफल नभएपनि यो चलचित्रमार्फत अन्तर्राष्ट्रिय बजारका विभिन्न सम्भावनाहरूलाई खोज्ने कार्य गरेका छौँ,’ निर्माता झाले बताए ।
यस चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा लैजान माउन्टेन रिभर फिल्म्सले प्रतिनिधि भूमिका निभाएको निर्माता झाले बताए । काठमाडौं फिल्म्सले निकट भविष्यमा लगातार नेपाली चलचित्रहरू बनाउने र विश्वव्यापी वितरण योजनाहरूमा काम गरिरहेको उनले बताए ।
काठमाडौं फिल्मसको ब्यानरमा चन्दन झाले निर्माण गरेको ‘बाटो: रोड टु डेथ’का निर्देशक, लेखक तथा सम्पादक मदन थापा हुन् । दक्षिण भारतीय चलचित्र उद्योगको अनुभवलाई लिएर नेपाली चलचित्र बनाएका मदनले यस चलचित्रमा अब्बल काम देखाएका छन् । यस चलचित्रमा मिथिला शर्मा, आशान्त शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, पशुपति राई, राजेन थापा, आभास अधिकारी, किरण शाही, गणेश उपाध्याय लगायतको अभिनय रहेको छ ।
प्रतिक्रिया