सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ – पारिश्रमिकको हिसाबले पूजा शर्मा वर्तमान नेपाली फिल्म क्षेत्रकी सर्वाधिक महँगी अभिनेत्री हुन् । उनले फिल्म ‘पोइ पर्यो काले’मा २० लाख पारिश्रमिक लिएको दावी गरेकी थिइन् ।

पूजाले अन्य केहि फिल्मबाट पनि ‘पोइ पर्यो काले’कै हारहारीमा पारिश्रमिक लिएको बताइन्छ । तर, यो कुरा ठोस प्रमाण मिडियामा आइसकेको छैन ।

करिअरको सुरुवातमा वर्षेनी एउटा फिल्म मात्रै गर्ने भनेतापनि पूजा आफ्नो बोलीमा अडिग रहन सकिनन् । गत वर्ष मात्रै उनि चार फिल्ममा अनुबन्धित भएको खबर बाहिएको थियो ।

यदि कोरोना महामारीले फिल्म क्षेत्र ठप्प नहुँदो हो त, पूजाका केहि फिल्म रिलिज हुने थिए । लकडाउन खुकुलो हुँदै गर्दा म्युजिक भिडियोका काम सुरु भए । फिल्मको काम ठप्प हुँदा पूजाले केहि थान म्युजिक भिडियोमा अभिनय गरिन ।

म्युजिक भिडियोमा किन भन्ने संचारकर्मीको प्रश्नमा पूजाले दर्शक माँझ पुगिरहन म्युजिक भिडियो गर्ने गरेको बताउछिन । तर, उनैका म्युजिक भिडियोमा दर्शकको नजर कमै पर्ने गरेको छ ।

उनका रिलिज पछिल्ला कुनै पनि म्युजिक भिडियोले दर्शकको मन जित्न सकेका छैनन् । नत म्युजिक भिडियोमा पूजाको चार्म र क्रेज नै देखिएको छ ।

पछिल्लो एक महिनामा रिलिज पूजाका पाँच म्युजिक भिडियो मध्ये २ वटाले मात्र १० लाख भ्युज पार गरेका छन् । आजभोलि महिना दिनसम्म पनि ५० लाख भ्युज नकटाउने गीतलाई सफल मानिदैन ।

लकडाउनपछि रिलिज पहिलो म्युजिक भिडियो ‘सयौँ जुनी’ले डेढ महिनाको समयमा जम्मा १४ लाख भ्युज बटुलेको छ । फिल्मी शैलीमा खिचिएको यो गीतमा पूजा र आकाश श्रेष्ठको जोडी छ ।

पल शाहसँगको म्युजिक भिडियो ‘पहिलो पल्ट भेट हुँदा’लाई डेढ महिनामा जम्मा २० लाख भ्युज प्राप्त भएको छ ।

आकाशसँगको ‘चानचुन पैसा’ अहिले ट्रेन्डिङमा छ । तर, गीतले पाँच दिनमा जम्मा ३ लाख भ्युज कटाएको छ । यस्तै पल शाहसँगको ‘ओए कान्छी’ गीतले ३ दिनमा जम्मा साढे ५ लाख भ्युज जम्मा गरेको छ । दुवै गीतलाई दर्शकको मिश्रीत प्रतिक्रिया प्राप्त छ । त्यसैले यी गीत पनि लामो रेसको घोडा बन्नेमा दुई मत देखिएको छ ।

लकडाउन यता गरेका पाँच म्युजिक भिडियो मध्ये ४ वटामा पूजाले पल र आकाशसँग जोडी बाँधेकी छन् । सायद फिल्म र म्युजिक भिडियोमा उही कलाकारसँग स्क्रिन शेयर गर्दा पूजाको म्युजिक भिडियोमा दर्शकको ध्यान नपरेको हुन सक्छ ।

लगातार पाँच म्युजिक भिडियो फ्लप दिएकी पूजाले आफुलाई आगामी दिनमा कसरी प्रस्तुत गर्छिन ? त्यो त समय नै बताउने छ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com