सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । गत कात्तिक ६ गतेदेखि प्रदर्शन भइरहेको फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले घरेलु बजारमा दर्शकको राम्रो साथ पाएको छ। दसैँमा प्रदर्शन भएका अन्य फिल्मको व्यापार कमजोर देखिँदा टीकाको भोलिपल्टदेखि प्रदर्शनमा आएको यस फिल्मले नौ दिनमा १० करोड २० लाख रुपैयाँ ग्रस कमाइ गरेको निर्माता मणिराम पोखरेलले जानकारी दिएका छन्।

शनिबार काठमाडौँ उपत्यकाका विभिन्न हलमा फिल्म हेरेका दर्शकसँग साक्षात्कार गर्न कलाकारसहित पुगेका निर्माता पोखरेलले फिल्मले कमाइसँगै दर्शकबाट सकारात्मक प्रतिक्रिया पनि पाइरहेको बताए।

निर्माता पोखरेलका अनुसार कलाकारसहितको टोली मोफसल यात्रामा निस्किएर पोखरालगायत विभिन्न सहरमा पुग्नेछ। त्यहाँ उनीहरूले दर्शकसँग भेटघाट तथा साक्षात्कार गर्नेछन्।

प्रदर्शनको सुरुवातदेखि नै दर्शकको उल्लेख्य साथ पाएको फिल्मले बक्स अफिसमा बलियो पकड कायम राखेको छ। ‘कबड्डी’का अघिल्ला चारवटै शृंखला बक्स अफिसमा सफल भएका थिए। पाँचौँ शृंखलाले पनि दर्शकको उत्साहजनक साथ पाउँदै अघिल्ला फिल्मको सफलतालाई निरन्तरता दिएको छ।

रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्ममा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की र शिशिर बाङ्देललगायत कलाकारको अभिनय छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com