सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ :  केही दिन अघि देखि अभिनेता पल शाह र हास्य कलाकार सन्दीप क्षेत्रीको एक अन्तर्वार्ता सामाजिक सञ्जालमा निकै चर्चामा छ। सन्दीप क्षेत्रीले कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने आफ्नो शो ‘ह्वाट द फ्लप’ मा पललाई अतिथिको रूपमा बोलाएर उनले जेल जीवनबारे प्रश्नहरू गरेका थिए। पलको प्राय: जस्तो जवाफमा उनले निकै नै मजाकमा उडाएका थिए। फलस्वरूप उनीहरूको त्यो अन्तर्वार्ता विवादमा तानिएको छ। बलात्कार जस्तो गम्भीर विषयलाई मजाकको रूपमा लिएको भन्दै अहिले सामाजिक अभियन्ताहरूले पल र सन्दीपको चर्को आलोचना गरिरहेका छन्। भने कान्तिपुर टेलिभिजनका अध्यक्षले भने कार्यक्रम प्रस्तोतालाई आवश्यक कारबाही गर्ने भन्दै माफी सम्म मागिसकेका छन्।

उक्त शो विवादमा मुछिएपछि अब भने अभिनेता पल शाहले आफ्नो सामाजिक सञ्जालमा झन्डै पाँच सय भन्दा लामो शब्दमा स्ट्याटस लेख्दै स्पष्टीकरण दिएका छन्।

उनी लेख्छन ”मानवीय जीवन हो उतार चढाव हुन्छ । म नि मानव हो । म भित्र पनि मानवीय संवेदना छ । म रुन्छु हाँस्छु । तपाईँहरू जस्तै …… म माथि आरोप लाग्यो, मैले कानुनलाई सघाउन सम्बन्धित निकायमा पुगे र १ वर्ष कारागारमा रहे । सम्मानित अदालतबाट उक्त आरोपबाट “सफाइ” पाएर म तपाईँहरू जस्तै सामान्य जीवन यापन र कर्म गर्दै आइरहेको छु ।
मलाई थाहा छ, बुझेको पनि छु म एक सार्वजनिक व्यक्ति हुँ । मैले गर्ने हरेक गतिविधि समाजसँग जोडिएको हुन्छ । म साना साना कुरामा संवेदनशील हुनु पर्दछ र मेरो ‘सेन्स अफ ह्युमर’ले सक्ने जति म संवेदनशील बन्ने कोसिसमा छु । पछिल्लो समय कान्तिपुर टिभी बाट प्रसारित “ह्वाट द फ्लप” मा मैले अन्तरवार्ता दिएको थिए । उक्त अन्तर्वार्ता प्रसारण भई सकेपछि सामाजिक सञ्जालमा हाम्रो शैलीको चर्को विरोध भई रहेको छ । प्रसारित कार्यक्रममा “हाँसी हाँसी  बोल्यो बलात्कारी, जेलका कुरालाई मजाकमा उडायो” जस्ता आरोप लागेका छन् ।
म एक्लै यो धर्तीमा कहिबाट उत्पत्ति भएको हैन । मेरो पनि एउटा परिवार छ । परिवार भित्र आमा, बाबा, बहिनी, इष्टमित्रहरू पनि छन् । उनीहरूमा के बित्छ होला जहिल्यै बलात्कारीको ट्याग दिँदा ? कहिल्यै सोच्नु भएको छ परिवारमा पर्ने आघातका बारेमा ? उनीहरूलाई मानसिक, व्यक्तिगत, सामाजिक जीवनमा कस्तो असर पर्ला कस्तो दाग रहला ? कहिल्यै त्यो ठाउँ आफ्नो परिवार राखेर सोच्नु भएको छ ? म स्पष्ट पार्न चाहन्छु । मेरो तर्फबाट मृत या जीवित, आरोपित होस या अपराधी सबैप्रति मेरो सम्मान छ । म मेरो देशको कानुनलाई शिरोपर गरी कानुनलाई सघाएको मानिसले कानुन उल्लङ्घन या कसैको अवहेलना गर्नेबारे सोच्न सम्म सक्दिन ।

मेरो जीवनको एक वर्ष म युनिभर्सिटीमा थिए । त्यो युनिभर्सिटीमै देखेका सिकेका कुराहरू मैले रोएर मात्र बोल्नु पर्ने हो र ? मैले कसैको नाम नलिईकन त्यहाँ भित्र मैले भोगेका देखेका कुरा हाँसेरै सरकार सामु अपिल गर्दा पनि मैले गाली खानु पर्ने हो ? म मेरा दुखका अनुभव हाँसेर कसैसँग शेयर गर्नै नपाउने हो ? मैले कसलाई मजाकको पात्र बनाएको छु ? म रुँदै अन्तर्वार्ता दिनु पर्ने हो ? म मेरो दुखमा सधैँ रुनु पर्ने हो या मैले मेरा दुखका अनुभव हाँसी हासि साट्न र जित्न पनि पाउँछु ? धेरै कुरा अनुत्तरित छन् र मैले बुझ्न सकेको छैन मेरो जीवनमा मैले गर्नु पर्ने के हो नगर्नु पर्ने के हो ? समाजका तपाईँहरू जान्ने बुझ्नेले मलाइ उत्तर दिनु होला !!!

अदालतबाट “सफाइ” पाइसकेपछि पनि मैले निधारमा “म बलात्कारी हुँ” लेखेर हिडौं कि दुख पिडालाई मुस्कान हाँसोले जितेर मेरो नर्मल जीवन यापन गरौँ ? मलाई पल शाह बनाएको तपाईहरुले हो यस कारण म प्रश्न पनि तपाईँहरू समक्ष नै गर्न चाहन्छु म के गरौँ ? कसरी बाचौँ ? कसरी हिडौं ? कसरी बोलौँ ? कसरी खाऊ ? कसरी लाऊ ? कि मैले निधारमा म बलात्कारी हुँ लेखेर देश छोडौँ ? कि मैले खुल्लमखुल्ला रत्नपार्कमा गएर आत्मदाह गरौँ ?
एक बर्से कारागार बसाइँमा मैले पाएका दुखलाई आशुले छिपिक्क भिजाएको छु । पिडाको पहाड छ । तर ती सबै भुलेर मैले कसैको अपमान नगरी, कसैको नाम समेत उच्चारण नगरी दुखलाई खुसी मुद्रामा साट्दा तपाईँहरूमा  परेको असर प्रति क्षमा चाहन्छु । कानुनले “ तँ “ सही छस् भनेर “सफाइ” दिएको विषय जोडेर बारम्बार प्रहार हुदॉ जीवन जिउने अभिलाषा सकिँदो रहेछ ……. सबैमा माया सम्मान र धन्यवाद 🙏🧡”

 

 

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com