सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: कृषा चौलागाई निर्देशित फिल्म ‘ऐंचो पैंचो’ टिम सिनेमाको प्रदर्शन मिति नजिकिएसँगै प्रचारप्रसारमा व्यस्त छ । फिल्मको प्रदर्शन मिति जति नजिकिँदै छ त्यति नै निर्माण पक्षले प्रचारलाई तिव्रता दिएको छ । टिकटकदेखि मिडिया अन्तर्वार्तासम्ममा यसका कलाकार र निर्देशकलाई भ्याइनभ्याइ छ ।

कलाकार स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुसाल, सुशील सिटौला तथा निर्देशक चौलागाईं यतिबेला मिडिया अन्तर्वार्तामा व्यस्त छन् । टेलिभिजन, रेडियो, अनलाइनदेखि युट्युब च्यानलमा अन्तर्वार्ता दिइरहेका छन् । कलाकार आफ्ना अन्य सबै काम छोडेर प्रचारमा जुटेका हुन् ।

निर्देशक कृषाका अनुसार ‘ऐंचो पैंचो’ पारिवारिक सामाजिक विषयमा केन्द्रित फिल्म हो । यसमा समाजमा हुने राजनीति पनि छ । युवामा राजनीतिले पारेको प्रभाव र असर पनि छ । तर, सिनेमा राजनीतिमा मात्रै केन्द्रित नभएको उनले बताउँदै आएकी छन् । राजनीति फिल्मको एउटा लेयर मात्रै भएको उनले स्पष्ट पारेकी छन् ।

समाजबाट राजनीति अलग हुन नसक्ने र चाहेर पनि कोही यसबाट भाग्न नसक्ने उनी बताउँछिन् । त्यही नै फिल्ममा समेटिएको कृषाको भनाइ छ । दर्शकसँग ‘ऐंचो पैंचो’ गर्न आफू अब अन्तिम चरणमा रहेको उनको भनाइ छ । आफ्नो टिमले दर्शकलाई राम्रो सिनेमा दिने र दर्शकबाट माया पाउने अपेक्षा गरेको उनले बताइन् । यही नै ‘ऐंचो पैंचो’ भएको उनी स्पष्ट पार्छिन् ।

गीत, टिजर, ट्रेलरबाट दर्शकले पाएको माया जस्तै हलमा सिनेमाले पनि माया पाउनेमा निर्माण टिम ढुक्क छ । फिल्मको गीत ‘काले केटाले’ धेरै टिकटक बनाइएको गीत हो । यसका कारण पनि फिल्म सफल हुनेमा निर्देशक कृषा ढुक्क छिन् ।

नेकपा एकीकृत समाजबादीका नेता प्रेम आलले ‘ऐंचो पैंचो हेर्ने पर्ने सिनेमा भएको बताएका छन् । ‘ऐंचो पैंचो’ले राजनीतिक दलका नेताहरूलाई सच्चिन सन्देश दिने बताएका छन् ।

‘पोलिटिकल इज अ डर्टी गेम’ भन्ने भनाइ रहेको अवस्थामा खराब बाटोमा रहेका राजनीतिकर्मीलाई पनि सच्चिन यो फिल्मले सन्देश दिनमा आफू ढुक्क रहेको उनले बताएका छन् । उनले सबैलाई फिल्म हेर्नका लागि अपिल पनि गरिसकेका छन् ।

यो फिल्मबाट धेरै दर्शकले मनोरञ्जनसँगै ज्ञान पनि हाँसिल गर्न सक्ने भन्दै आफू परिवारसहति ‘ऐंचो पैंचो’ हेर्ने पनि उनले बताएका छन् ।

नेता आलेले पछिल्लो समय नेपालको राजनीतिक अस्थिरतालाई सिनेमाले उठाउन थालेको र यो राम्रो पक्ष भएको बताएका थिए । निर्माण पक्षले उनलाई ट्रेलर सार्वजनिक कार्यक्रममा बोलाएको थियो । यो पनि निर्माण पक्षको फिल्म प्रचारको नयाँ रणनीति थियो ।

‘ऐंचो पैंचो’का निर्माता विशाल चौलागाईले विदेशका धेरै देशका लागि फिल्मको राइट्स बिक्री भइसकेको भन्दै उनले नेपालबाटै लगानी सुरक्षित गर्ने बताए । उनले भने, ‘यो पटक हामी नेपालबाहेक बाहिरबाट कसरी लगानी उठाउने भन्नेभन्दा पनि नेपालका थिएरटबाट कसरी टिकट बिक्री गरेर लगानी सुरक्षित गर्ने भन्नेमा केन्द्रित भएका छौँ ।’

जति धेरै दर्शकले फिल्म हेर्छन् त्यति नै लगानी सुरक्षित हुने भएकाले यसमा अहिले आफ्नो ध्यान केन्द्रित भएको उनको भनाइ छ । उनले राजीतिक दलका नेतासँग फिल्मको कुनै सब्मन्ध नरहेको भन्दै समाजको कथासँगै केही राजनीतिक विषय पनि समावेश भएको बताएका छन् । उनले नेकपा एमाले सचिव योगेश भट्टराईलाई पनि फिल्मको गीत सार्वजनिक कार्यक्रममा बोलाएका थिए । उनीहरु दुवै साथी र सुवेक्षुकको नाताले आएको विशालको भनाइ थियो ।

स्वस्तिमाले राजनीतिमा आवद्ध व्यक्तिहरूलाई पनि फिल्म हेर्न आग्रह गरेकी छन् । फिल्मको प्रिमियर तथा कार्यक्रमहरूमा नेताहरूलाई आफूले देख्ने गरेको भन्दै उनले हलमा गएर पनि फिल्म हेर्न आग्रह गरेकी हुन् ।

फिल्म समाजको रिफरलेक्सन पनि भएको भन्दै उनले भनेकी छन्, ‘कतिपय सन्दर्भमा उहाँहरूले समाजमा नदेख्नु भएको कुरा हामीले हाम्रो क्यामेराबाट देखाइरहेको हुन सक्छौँ । त्यसैले ऐंचो पैंचो हेर्न म उहाँहरुलाई आग्रह गर्छु ।’

अनावश्यक गसिप र कन्ट्रोभर्सी गरेर आफू फिल्म चलाउने पक्षमा नरहेको भन्दै उनले ‘ऐंचो पैंचो’ राम्रो बनेको बताएकी छन् । ‘ऐंचो पैंचो’बाट अफर आएपछि आफूले सुरुमा निर्देशकसँग विचार र भिजन मिल्छ कि मिल्दैन भनेर केही दिन वर्कसपमा बसेपछि मात्रै फिल्म साइन गरेको स्वस्तिमाले जानकारी दिएकी छन् ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com