सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । हिन्दु धर्मगुरुहरूले फिल्म ‘पाँच पाण्डव’ हेरेका छन् । उनीहरूले सोमबार फिल्म हेरेका हुन् । फिल्म हेरेपछि धर्मगुरुहरूले सामाजिक सञ्जालमा चर्चा भएजस्तो फिल्ममा कुनै विवादास्पद विषय नरहेको बताएका छन् ।
हिन्दु धर्मगुरुहरूले ‘पाँच पाण्डव’ले हिन्दु धर्मको अपमान नगरेको बताएका छन् । फिल्मले हिन्दु धर्म, महाभारत, पाण्डव, गीता वा धर्मका अन्य कुनै पनि पक्षमा आँच पुर्याउने काम नगरेको उनीहरूको भनाइ छ ।
पोस्टर र ट्रेलर हेर्दा फिल्ममा केही समस्या हुन सक्ने आशङ्का गर्दै आफूहरूले विरोध जनाएको भए पनि फिल्म हेर्दा त्यस्तो केही नपाएको उनीहरूले बताएका छन् । उनीहरूले ‘पाँच पाण्डव’ सबैले हेर्नैपर्ने फिल्म भएको प्रतिक्रिया दिएका छन् ।
“फिल्ममा द्रौपदी भन्ने पात्र नै छैन । तर पोस्टरमा त्यो थियो । ट्रेलरमा पनि केही कुरा थिए । त्यसैले हामीले विरोध गरेका हौँ,” फिल्म हेरेपछि धर्मगुरुहरूले भने, “फिल्ममा हिन्दु धर्मलाई ठेस पुग्ने कुनै कुरा छैन । उत्कृष्ट फिल्म बनेको छ । सबैले हेर्नुपर्ने फिल्म बनेको छ ।”
वसन्त निरौलाको निर्देशनमा बनेको ‘पाँच पाण्डव’मा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला र इभा गिरीलगायत कलाकार मुख्य भूमिकामा छन् ।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा दीपाश्री निरौला, सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने र रितेश पौडेल (रितेशजंग खत्री)लगायत कलाकारको पनि अभिनय रहेको छ । फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् । उनले यसअघि गत वर्ष ‘लाज शरणम्’ निर्माण गरेका थिए । फिल्मकी निर्माता काली रानी श्रेष्ठ हुन् ।
‘पाँच पाण्डव’को कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन् । लेखक पौडेलले यो फिल्म सामाजिक कथामा आधारित रहेको स्पष्ट पारेका छन् । उनका अनुसार फिल्मले महाभारतका पाँच पाण्डवका चरित्र र विम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गरेको छ ।
फिल्मलाई श्याम तामाङले छायाङ्कन गरेका छन् । सुप्रिम पराजुलीले सम्पादन तथा रङ्ग संयोजन, सम्राट बस्नेतले द्वन्द्व निर्देशन र गम्भीर विष्ट तथा विक्रम स्वाँरले कोरियोग्राफी गरेका छन् । फिल्ममा अर्जुन पोखरेलको सङ्गीत, उत्तम न्यौपानेको ध्वनि संयोजन, सुजिल कर्माचार्यको पृष्ठभूमि सङ्गीत (बिजिएम) र पुकार धिमालको भिएफएक्स रहेको छ । रोहित राज गौतम एचओपी र विष्णु बुढाथोकी प्रोडक्सन म्यानेजर छन् । फिल्मको डिजिटल साझेदार ओएसआर डिजिटल रहेको छ । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले फिल्मलाई देशव्यापी वितरण गरेको छ ।






प्रतिक्रिया