सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेत्री पूजा शर्मा फिल्म ‘दान्भी’को छायाङ्कनमा फर्किएकी छन्। केही समय अघिदेखि रोकिएको फिल्मको अहिले धमाधम छायाङ्कन सुरु भएको छ। फिल्ममा पूजा मुख्य भूमिकामा देखिँदै छन् । निर्माण टिमले काठमाडौंको नैकापमा सेट नै लगाएर क्लाइमेक्सका दृश्यहरू खिचिरहेको छ। पूजाले अहिले एक्सन सिक्वेन्सको सट दिइरहेकी छन्।

पूजाले भर्खरै मात्र आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक्सन सट दिई रहेको फोटो पोस्ट गरेकी छिन। उनले फिल्मको टिजर चाडै आउने सङ्केत दिँदै आफ्नो एङ्ग्रि लूक्स सहितको पोस्टर सार्वजनिक गरेकी छन्। फिल्ममा श्री श्रेष्ठले एक्सन निर्देशन गरिरहेका छन् । हरि लामा घलेको छायाङ्कनमा तयार भइरहेको फिल्मका सह–निर्देशक नवराज शर्मा हुन् । फिल्ममा कथा रविना थापा मगरको छ भने पटकथा तथा संवाद सन्जोग रानाको छ । फिल्ममा अर्जुन पोखरेलेको सङ्गीत, कविराज गहतराजको कोरियोग्राफी छ ।

अनुप गदाल र देव मगरको लगानीमा तयार भइरहेको यो फिल्ममा कमला लिम्बु र गोकुल सुवेदी सह–निर्माताको रूपमा छन् ।

फिल्म ‘दान्भी’को क्लाइमेक्समा सय जना फाइटर प्रयोग गरिएको निर्देशक तामाङले जानकारी दिए । उनले भने–‘फिल्मको क्लाइमेक्सका लागि हामीले निकै मिहिनेत गरिरहेका छौ । दर्शकले साउथ र बलिउड फिल्ममा देख्दै आउनुभएको उच्च तहको एक्सन नेपाली फिल्ममा पनि अब देख्न पाउनुहुनेछ ।’

फिल्मको क्लाइमेक्सका लागि ३ दिनदेखि काम गरिरहेकी नायिका पूजा शर्माले भनिन्–‘फिल्मको मेकरले एक्सनका लागि कुनै कसर बाँकी राख्नु भएको छैन । मैले पनि आफूले सकेको मिहिनेत गरिरहेको छु । आशा छ, दर्शकले नेपाली फिल्ममा एक्सनको नयाँ प्रयोग हेर्न पाउनुहुनेछ ।’ पूजाले एक्सनमा काम गर्न सजिलो नभएको समेत तर्क गरिन् ।

फिल्म ‘दान्भी’को प्रदर्शन मिति तय गरिएको छैन । तर, यो फिल्म आम दर्शकका लागि प्रतिक्षित बनिसकेको छ । फिल्ममा पूजाको साथमा नायक कुन्साङ बोमजोमले अभिनय गरिरहेका छन् । फिल्मको क्लाइमेक्स र केही एक्सनको दृश्य खिचेर यसको निर्माण पक्ष बाँकी दृश्यका लागि दार्जिलिङ प्रस्थान गर्नेछ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com