सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । आन्भी फिल्म्सको प्रस्तुति तथा कबड्डी फिल्म्सको सहकार्यमा नयाँ फिल्म ‘बखत्ते’ निर्माण हुने भएको छ । फिल्मलाई निर्देशक उपेन्द्र सुब्बाले निर्देशन गर्नेछन्। फिल्मको लेखन पनि सुब्बाकै रहेको छ।

‘बखत्ते’को मुख्य भूमिकामा विपिन कार्की र मिरुना मगर रहनेछन्। यस्तै, फिल्ममा शिशिर बाङ्देल, अनुराग कुँवर, विनोद न्यौपाने, अनिल सुब्बा, शारदा गिरी, उषा किरण अधिकारी, मिस्री थापा, सुगम दुलाल, सहिष्मा खड्का, अनिशा काफ्ले र बालकलाकार रिन्जेन लामालगायतको अभिनय रहनेछ।

निर्देशक सुब्बाले लामो समय लिएर ‘बखत्ते’ निर्देशन गर्न लागेको बताए। “यो कथा दर्शकले रुचाउनुहुनेछ भन्ने लागेको छ। इमानदार भएर कथा लेखेको छु, फिल्म पनि इमानदार भएर बनाउनेछु। आशा छ, दर्शकले पनि मन पराउनुहुनेछ,” उनले भने।

फिल्मका निर्माता आशिषएच तामाङ र प्रदीपजी धामी हुन् भने युवराज काफ्ले कार्यकारी निर्माता छन्। अञ्जु पाण्डे र पुष्कर घिमिरे सह–निर्माता रहेका छन्।

पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गर्नेछन्। साउन्ड डिजाइन उत्तम न्यौपानेको रहनेछ। चीफ आरओमा फिरोज खड्का र किरण चाम्लिङ राई छन् भने हेड अफ प्रोडक्सनमा दिलीप पन्त रहेका छन्। प्रोडक्सन म्यानेजरमा रबिन बखरेल छन्।

फिल्ममा शुसान्त गौतम, प्रशान्त सिवाकोटी र समीर खरेलको संगीत रहनेछ। गीत युवराज काफ्ले र दानबहादुर कार्कीको रहेको छ। मेकअप तथा हेयर स्वस्तिका श्रेष्ठ (स्वस्तिका स्टुडियो)ले सम्हाल्नेछिन्। पोस्टर तथा पब्लिसिटी डिजाइनरमा रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) रहेका छन्।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com