सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । नेपाली फिल्म शृङ्खला ‘कबड्डी ५’को नयाँ गीत ‘राजै’ सार्वजनिक गरिएको छ । गायक तथा सङ्गीतकार कालीप्रसाद बास्कोटाको शब्द तथा सङ्गीत रहेको गीतमा दर्शना गान्धारीको स्वर छ । लिरिकल भर्सनको उक्त गीतलाई रुचन चापागाईंले तयार गरेका हुन् ।

‘कबड्डी’को पहिलो भागदेखि पाँचौँ शृङ्खला ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’सम्म आइपुग्दा काजीको चरित्रमा देखिएको हठीपन, जिद्दी स्वभाव र अनौठा व्यवहारसँगै उनको मनभित्रका मानवीय संवेदना तथा मैयाप्रतिको प्रेमलाई गीतमा प्रस्तुत गरिएको छ।

अभिनेता दयाहाङ राईले निर्वाह गरेको काजीको चरित्र र पहिलो मैयाका रूपमा रहेकी रिश्मा गुरुङलाई गीतमा देखाइएको छ । काजीको स्वभाव र प्रेम सम्बन्धका विभिन्न पक्षलाई गीतमार्फत सम्झाउने प्रयास गरिएको छ ।

रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘कबड्डी ५’मा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले र अरुणा कार्कीलगायत कलाकारको अभिनय छ।

फिल्मका निर्माता रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी) हुन् भने सागर राज कार्यकारी निर्माता छन्। फिल्ममा सञ्जय लामाको छायाङ्कन, सुरेन्द्र पौडेलको सम्पादन, उत्तम न्यौपानेको ध्वनि डिजाइन र राजेन्द्र मोक्तानको रङ संयोजन छ। पोस्टर डिजाइन आनन्द के. महर्जनले गरेका छन् भने मिडिया संयोजकको जिम्मेवारी सीपी जैशीले सम्हालेका छन्।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com