सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले फिल्म ‘पाँच पाण्डव’मा आफ्नो भूमिका निकै बलियो रहेको बताएकी छन्। फिल्ममा दर्शकले आफूलाई ‘फाइटर लेडी’का रूपमा देख्न पाउने उनको भनाइ छ।
दीपाश्रीले फिल्ममा भीमकी श्रीमतीको भूमिका निर्वाह गरेकी छन् । भीमको भूमिकामा जितु नेपाल छन् । आफ्नो चरित्र यसअघिका भूमिकाभन्दा फरक रहेको बताउँदै दीपाश्रीले यसलाई लडाकु स्वभावको महिलाका रूपमा चित्रण गरिएको जानकारी दिइन् । ‘यसपटक मेरो चरित्र अलिक फरक छ। यो अलिकति फाइटर टाइपको भूमिका हो। मजदुरमाथि कसैले अन्याय गर्यो भने सबैभन्दा पहिले मेरो हातखुट्टा चल्छन्’, उनले भनिन् ।
फिल्ममा आफ्नो प्रवेश हुने दृश्यले दर्शकबाट सिठी, ताली र हुटिङ पाउनेमा उनी विश्वस्त छिन् । ‘डबिङ गर्दा नै मलाई यस्तो महसुस भएको थियो। मेरो प्रवेश हुने दृश्य निकै धमाकेदार छन्। ती दृश्यमा एकदमै जुझारु नारीको उपस्थिति महसुस हुन्छ। श्रीमान्लाई पनि सुरक्षा दिने र उनको पक्षमा उभिने भूमिका छ’, दीपाश्रीले भनिन् ।
आफ्नो अभिनय यात्रामा अहिलेसम्म निर्वाह गरेका भूमिकाभन्दा फरक चरित्र भएकाले पनि उनले यसलाई नयाँ अनुभवका रूपमा लिएकी छन्। फिल्ममा उनको चरित्रको नाम ‘सितर्नी’ हो। ‘मेरो चरित्रको नाम ‘सितर्नी’ हो। फिल्ममा अरूलाई गाली गर्दा पनि म ‘सितर्नी’ भनेर गाली गर्छु। मलाई लाग्छ, यो शब्द दर्शकको मुखमा झुण्डिनेछ’, उनले भनिन्।
बसन्त निरौलाको निर्देशनमा तयार भएको फिल्म यही कात्तिक २० गतेदेखि प्रदर्शनमा आउँदैछ। फिल्ममा दीपाश्रीसँगै हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला र इभा गिरीलगायत कलाकार मुख्य भूमिकामा छन्।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको फिल्ममा सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने र रितेश पौडेल (रितेशजंग खत्री) लगायतका कलाकारको पनि अभिनय छ। नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्मकी निर्माता काली रानी श्रेष्ठ हुन्। नवीनले यसअघि गत वर्ष ‘लाज शरणम्’ निर्माण गरेका थिए।
‘पाँच पाण्डव’को कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन् । लेखक पौडेलका अनुसार यो सामाजिक विषयवस्तुमा आधारित फिल्म हो। महाभारतका पाँच पाण्डवका चरित्र र विम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गरिएको उनले बताएका छन्। फिल्मलाई श्याम तामाङले खिचेका हुन्। सुप्रिम पराजुलीको सम्पादन रहेको फिल्ममा सम्राट बस्नेतले द्वन्द्व निर्देशन गरेका छन्। गम्भीर विष्ट र विक्रम स्वाँरले नृत्य निर्देशन गरेका छन्।
फिल्मको डिजिटल साझेदार ओएसआर डिजिटल रहेको छ। रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले फिल्मलाई देशव्यापी वितरण गर्नेछ।






प्रतिक्रिया