सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । काठमाडौँमा पहिलो पटक आयोजना गरिएको ‘काठमाडौँ फिल्म फेस्टिभल २०२६’ सम्पन्न भएको छ । तीन दिनसम्म सञ्चालन भएको महोत्सव अन्तिम दिन विशेष प्रदर्शन तथा पुरस्कार र प्रमाणपत्र वितरण कार्यक्रमसहित समापन गरिएको हो ।
काठमाडौँ महानगरपालिकाले युनेस्कोको सिर्जनात्मक सहरका रूपमा आफ्नो पहिचानलाई उत्सवका रूपमा मनाउने उद्देश्यले महोत्सव आयोजना गरेको थियो । महोत्सवअन्तर्गत सिटी हल र जय नेपाल सिनेमा लगायतका स्थानमा १४ देशका ४० फिल्म प्रदर्शन गरिएको थियो ।
महोत्सवको नेपाल पानोरामा विधाअन्तर्गत स्थानीय खण्डमा छनोट भएका नौ छोटा फिल्मलाई प्रोत्साहनस्वरूप जनही एक लाख रुपैयाँ प्रदान गरिएको थियो । ‘मानकी’, ‘आशुभा अष्टमी’, ‘ढोका अझै बन्द छन्’ र ‘घर स्थान होइन’ लगायतका फिल्म उक्त विधामा छनोट भएका थिए । महोत्सवको समापन समारोहमा छोटो फिल्म ‘भकुण्डे भूत’ ले प्रमुख पुरस्कार जितेको थियो ।
यसैगरी, महोत्सवको अन्तिम दिन नेपाली फिल्म क्षेत्रका पुराना कृतिलाई पनि विशेष स्थान दिइएको थियो । सन् १९७० र १९८० को दशकका नेपाली फिल्मको पूर्वव्यापी प्रदर्शनअन्तर्गत ‘कुमारी’ र ‘के घर के डेरा’ लगायतका फिल्म देखाइएको थियो ।
नेपाली फिल्मको प्रवर्द्धन, अन्तर्राष्ट्रिय फिल्मसँगको सांस्कृतिक आदानप्रदान र काठमाडौँको सिर्जनात्मक पहिचानलाई उजागर गर्ने उद्देश्यसहित आयोजना गरिएको पहिलो संस्करणको महोत्सव तीन दिनपछि सम्पन्न भएको हो ।
तस्बिरहरू : बिकास रौनियार














प्रतिक्रिया