सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

बिकास रौनियार / सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । सन् १९८८ मा हामीले ‘स्पार्क’ पत्रिका सुरु गरेका थियौँ । एलेन बैलोचन तुलाधरले प्रकाशन गरेको उक्त पत्रिकाको सम्पादकको जिम्मेवारी अनिल चित्रकारले सम्हालेका थिए । रविन्द्र मिश्र र प्रकाश रिमालजस्ता चर्चित पत्रकारले पनि ‘स्पार्क’बाटै आफ्नो पत्रकारिता यात्रा सुरु गरेका थिए ।

मलाई सम्झना छ, त्यतिबेला रविन्द्र रत्न राज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता अध्ययन गरिरहेका थिए । हामी गायिका सुनिता सुब्बाको अन्तर्वार्ता लिन गएका थियौँ। म भने उनीहरूसँग कानुनी सल्लाहकार तथा फोटोग्राफरका रूपमा संलग्न थिएँ ।

तर यहाँ चर्चा गर्न खोजिएको प्रसंग चर्चित बेलायती अभिनेता जुलियन स्यान्ड्ससँग जोडिएको छ । उनी फ्रान्सेली फिल्म ‘मानिका, उने भि प्लस टार्ड’को छायांकनका लागि काठमाडौं आएका थिए । मेरा सहपाठी तथा साथी वीरेन्द्र शाक्य (बिरु) ले जुलियन स्यान्ड्स काठमाडौंमा रहेको थाहा पाए। उनको सम्बन्धका कारण हामीले याक एन्ड यति होटलमा स्यान्ड्सको अन्तर्वार्ता लिने अवसर पायौँ ।

त्यतिबेला फिल्मको छायांकनका लागि हाम्रो पुरानो सन् १९५२ मोडलको एम्बेसडर कारसमेत प्रयोग गरिएको थियो । उक्त कार शंकर होटलमा भएको छायांकनमा प्रयोग गरिएको मलाई अझै सम्झना छ ।

‘मानिका, उने भि प्लस टार्ड’को कथा दक्षिण भारतको एउटा गरिब माछा मार्ने गाउँमा बस्ने १० वर्षीया बालिका मनिकाको जीवनमा आधारित छ । आयशा धारकरले मनिकाको भूमिका निर्वाह गरेकी छन् । मनिकालाई आफ्नो विगतको जीवनका स्पष्ट सम्झना हुन्छन् । उनी आफू कुनै समय नेपालका एक धनी ब्राह्मणकी पत्नी रहेको विश्वास गर्छिन् ।

फिल्ममा जुलियन स्यान्ड्सले फादर डेनियल महोनीको भूमिका निर्वाह गरेका छन्। उनी आयरिस क्याथोलिक मिसनरी पादरी तथा मनिकाको विद्यालयका शिक्षक हुन्छन्। सुरुमा मनिकाको दाबीप्रति शंका गर्ने उनी पछि उनको विश्वासको सम्मान गर्न थाल्छन्। मनिकाको विगतको जीवनको सत्यता पत्ता लगाउन उनीसँगै नेपाल यात्रामा निस्कन्छन्। फिल्ममा अभिनेत्री श्रीदेवी पनि विशेष भूमिकामा देखिएकी छन्। यसको स्थानीय निर्माण व्यवस्थापनको जिम्मेवारी गेहेन्द्र धिमालले सम्हालेका थिए।

फ्राँस्वा भिलियर्सको निर्देशन तथा सहलेखनमा बनेको यो फिल्म फ्रान्स र स्विट्जरल्यान्डको संयुक्त निर्माण थियो। फिल्ममा जुलियन स्यान्ड्स र आयशा धारकरसँगै जाँ फिलिप इकोफी, सुरेश ओबेरोय, जोहरा सहगल, सईद जाफरी र सोनी राजदानलगायत कलाकारको अभिनय छ। नेपाली कलाकार सन्तोष पन्त र दिनेश डीसीले पनि स्थानीय पसलेको सानो भूमिका निर्वाह गरेका थिए।

जुलियन स्यान्ड्सको फिल्म यात्रा

जुलियन रिचर्ड मोर्ली स्यान्ड्स (४ जनवरी १९५८–१३ जनवरी २०२३) बेलायती अभिनेता थिए। उनले सन् १९८४ मा प्रदर्शन भएका ‘अक्सफोर्ड ब्लुज’ र ‘द किलिङ फिल्ड्स’मा सहायक भूमिका निर्वाह गरेका थिए।

सन् १९८५ मा प्रदर्शन भएको फिल्म ‘अ रुम विथ अ भ्यु’मा जर्ज इमर्सनको भूमिका निर्वाह गरेपछि उनी अन्तर्राष्ट्रिय रूपमा चर्चित बने। उक्त भूमिका उनको अभिनय यात्राकै सबैभन्दा स्मरणीय भूमिकामध्ये एक बन्यो।

त्यसपछि उनले ‘गोथिक’ (१९८६), ‘वारलक’ (१९८९), ‘एराक्नोफोबिया’ (१९९०), ‘नेकेड लन्च’ (१९९१), ‘लिभिङ लास भेगास’ (१९९५) र ‘द गर्ल विथ द ड्र्यागन ट्याटु’ (२०११) लगायतका फिल्ममा अभिनय गरे।

टेलिभिजनमा पनि उनको उपस्थिति उल्लेखनीय थियो। उनले ‘रोज रेड’ (२००२) मा निक हार्डवे, ‘२४’ (२००६) मा भ्लादिमिर बियर्को र ‘स्मलभिल’ (२००९–२०१०) मा जोर–एलको भूमिका निर्वाह गरेका थिए। त्यस्तै, ‘ज्याकी च्यान एड्भेन्चर्स’ (२०००–२००२) मा भ्याल्मोन्टको चरित्रलाई आवाज दिएका थिए।

सन् २०२३ मा निधन भएका स्यान्ड्ससँग काठमाडौंमा गरिएको त्यो अन्तर्वार्ता र उनको फिल्मको छायांकनसँग जोडिएका स्मृतिहरू आज पनि अविस्मरणीय छन्। विशेषगरी नेपाली कलाकार तथा प्राविधिकसँगै अन्तर्राष्ट्रिय फिल्म निर्माणको एउटा ऐतिहासिक क्षणमा जोडिन पाउनु आफैँमा विशेष अनुभव थियो।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com