सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘ह्याप्पी डिभोर्स’ बन्ने भएको छ।  मंगलबार राजधानीमा एक कार्यक्रम बीच फिल्मको औपचारिक घोषणा गरिएको हो। फिल्मलाई अभिनेता तथा मोडल  विमलेश अधिकारीले निर्देशन गर्ने भएका हुन्। लामो समय देखि अमेरिका बस्दै आएका अधिकारीको यो पहिलो निर्देशकीय प्रोजेक्ट हुनेछ। कार्यक्रममा विमलेशले  फिल्मको शिर्षक तथा मुख्य कलाकारसहितको टिम चिनाएका छन् । फिल्ममा विमलेशसंगै केकी अधिकारी र रीमा विश्वकर्माको पनि मुख्य भुमिका रहनेछ । अर्को बर्ष अर्थात् २०२४ को जनवरीमा छायांकनमा जाने फिल्मको रिलिज समेत यही बर्ष गरिनेछ ।

मंगलबार नै फिल्मको कथासार बुझाउने म्युजिकल प्रिभ्यु समेत सार्वजनिक गरिएको छ ।  सार्वजनिक म्युजिकल प्रिभ्युमा मुख्य कलाकार केकी अधिकारी र रीमा विश्वकर्माका अलवा निर्देशक अधिकारी समेत देखिएका छन् । विशाल पोखरेलको संगीतमा तयार भएको शिर्ष गीतमा सुरेश लामा र ममता गुरुङको स्वर सुन्न सकिन्छ ।

विमलेश अधिकारीको कन्सेप्टमा निर्माण हुने फिल्मले नयाँ सुरुवात, स्वतन्त्रता र राम्रो भविष्यको कथा भन्ने छ । साथै, राम्रैसँग चलिरहेको एक जोडीको वर्तमान अवस्था र त्यसलाई भविष्यमा अझै राम्रो बनाउन चाल्ने कदमलाई नजिकबाट देखाउन प्रयास आफ्नो टिमको रहने निर्देशक अधिकारी बताउँछन् । लामो समयदेखि आफ्नो दिमागमा खेलिरहेको एउटा सुन्दर कथालाई दर्शकमाझ प्रस्तुत गर्न लागेको विमलेशको दाबी छ ।

सेभेन कलर्स डिजिटलको व्यानरमा निर्माण हुने फिल्ममा नवराज उप्रेतीको छायांकन, पुष्करमणि राईको पटकथा, सोनी सिंजाली मगरको ड्रेस डिजाइन, विशाल मोक्तानको मेकअप, सागबाबु भट्टको सहायक निर्देशन, दिपेन गौतम प्रोडक्सन म्यानेजर र कलर तथा सम्पादन टेकेन्द शाहको रहनेछ ।

कुनै बेला म्यूजिक भिडियोमा निकै रुचाइएका विमलेश पछिल्लो पटक २०७३ सालमा प्रदर्शनमा आएको फिल्म ‘जंगबहादुरको कोट’मा देखिएका थिए । त्यसपछि अमेरिकालाई कर्मथलो बनाएका उनल ‘तुलसी’, ‘मुटु’, ‘ब्रेकफेल’, ‘मेरो बेष्ट फ्रेन्ड’, ‘को हुँ म ?’ लगायतका फिल्ममा पनि अभिनय गरेका छन् ।

 

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com