सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: आगामी असोज २६ गतेदेखि प्रदर्शनको तयारीमा रहेको नारायण रायमाझि निर्देशित फिल्म ‘परदेशी २’ टिम अहिले मोफसल दौडमा छ । आफ्नो फिल्मको लक्षित समुहका दर्शकलाई हलसम्म तान्ने प्रयास शोरुप काठमाडौंको कलेजपछि अहिले नारायणगढ पुगेको हो । त्यहाँका विभिन्न कलेजमा पुगेर निर्माण टिमले दर्शक फकाइरहेको छ ।

फिल्म युवापुस्तामा बढ्दो विदेश मोहको कथामा आधारित छ । स्वभाविक रुपमा यसको लक्षित वर्ग कलेजका विद्यार्थीहरु हुन् । फिल्मको टिमले पनि प्रचारका लागि कलेज नै रोजेको छ । फिल्मको कथा बुझाउन नाटक समेत तयार गरिएको छ । त्यही नाटक लिएर काठमाडौंपछि फिल्मको टिम यतिबेला मोफसल दौडाहामा छ । असोज १२ गतेसम्म पश्चिम नेपालका विभिन्न शहरहरुमा फिल्मको मोफसल टुर जारी रहनेछ ।

बिहीबार र शुक्रबार नारायणगढका केही कलेजमा नाटक देखाउँदै निर्देशक नारायण रायमाझी, अभिनेता प्रकाश सपूत र अभिनेत्री केकी अधिकारीले त्यहाँका विद्यार्थीहरुलाई परिवारसहित फिल्म हेर्न निम्तो दिए । अब बुटवल, नेपालगञ्ज र पोखरामा यही शैली अपनाइनेछ । नाटकलाई विद्यार्थीहरुले रुचाएका छन् । नाटक हेर्दा कति विद्यार्थी भावुक भएको निर्देशक रायमाझीले बताए ।

फिल्मका निर्देशक रायमाझीले ‘परदेशी र परदेशी २’को कथा भन्ने शैली एकै भएता पनि कथावस्तु विल्कुलै फरक रहेको दाबी गरेका छन् । कथाले हरेक उच्च शिक्षाका लागि परदेशीने नेपालीको विदेश भोगाईलाई दुरुस्तै कथामा उतारेको निर्देशक रायमाझीको भनाई छ । गीतसंगीतलाई फिल्म जसरी छनक दिने गायक तथा संगीतकार एवम् ‘परदेशी २’ बाट पहिलो पटक फिल्ममा पाइला चालेका अभिनेता प्रकाश सपुतले कथा भन्ने शैली र कथावस्तु अत्यन्तै सरल रुपमा जोडिएको जानकारी दिए ।

उनले अगाडी भने-‘गीतसंगीत गर्नु र सिनेमा गर्नु विल्कुलै फरक रहेको ‘परदेशी २’ मा जोडिँदा चुनौती नै मोलेर फिल्ममा आवद्ध भएपनि निर्देशक नारायण सर र म गीतसंगीत कै भएकाले काम गर्न त्यति असहज भएन् ।’ फिल्ममा एउटा विदेशिने विद्यार्थीको भूमिकामा देखिए भन्दै परदेश हुदाँ घर, साथी, पढाईसँगै काममा हुने भोगाइ र यादहरुलाई चित्रण गरिएको जानकारी उनले दिए ।

अभिनेत्री केकी अधिकारीले फिल्मको सबैभन्दा बलियो पक्ष भनेको गीत र कथा नै रहेको बताइन् । फिल्ममा एकजना परदेशी हुँदा उसको परिवार त सधैँ उसको पर्खाइमा रहने भयो तर उसँग जोडिएको उसको प्रेमलाई पनि फिल्ममा देखाएको छ । अनि कुनैपनि काम मन लगाएर गरेको खण्डमा देशमै सुन फल्छ भन्ने मूलमर्म फिल्मले बोकेको उनले भनिन् ।

अभिनेता प्रशान्त तामाङ अभिनीत २०७२ सालमा रिलिज भएको फिल्म ‘परदेशी’ सुपरहिट भएको थियो । यसपटक पनि उनी फिल्ममा विशेष भूमिकामा देखिने छन् । फिल्मको कथा प्रकाश सपूतको वरिपरी घुमेको छ । यही फिल्मबाट अभिनेताको रुपमा डेब्यू गरेका सपुत गायनमा स्थापित नाम हो । एकातिर यो फिल्मलाई अघिल्लो श्रृंखलाको खास जोगाउनुपर्ने चुनौती छ भने अर्कोतिर प्रकाशलाई गायक हिरोको रुपमा सफल हुनुपर्ने चुनौती छ ।

नीर शाह, दीलिप रायमाझी, वर्षा सिवाकोटी, रमा थपलिया, सबिन बास्तोता, देवेन्द्र बब्लुलगायतको अभिनय रहेको फिल्म नारायण रायमाझी र राजेश बंशलले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा गीतकार रमेश विजीको कथा लेखन, मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व निर्देशन, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी तथा दीर्घ खड्काको सम्पादन रहेको छ ।

दुई दिने नारायणगढ यात्रा सकेर ‘परदेशी २’ टिम भोली नेपालगञ्ज पुग्दै छ । शनिबार त्यहाँका विभिन्न हल र कलेजको पुगेर फिल्मको टिमले दर्शक भेटघाट तथा प्रचारका विभिन्न कार्यक्रममा सहभागी हुनेछ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com