सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: यही असोज २६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘परदेशी–२’को नयाँ गीत सार्वजनिक गरिएको छ । फिल्ममा समावेश ‘कुरा सिधा छ…’ बोलको डान्सिङ शैलीको गीत बुधवार बिहान युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा फिल्मका मुख्य कलाकार अभिनेता प्रकाश सपूत र अभिनेत्री वर्षा शिवाकोटी प्रस्तुत छन् । प्रताप दास र मिना निरौलाको स्वर रहेको गीतमा बि.बि अनुरागीको शब्द तथा संगीत छ । गोविन्द राईले भिडियोको कोरियोग्राफी गरेका हुन् । ‘लिरिकल शैली’मा तयार यस गीतको भिडियोलाई सम्पादन भने मिराज अर्यालले गरेका छन् ।

दशैँको छेको पारेर प्रदर्शनमा आउन लागेको ‘परदेशी–२’लाई नारायण रायमाझीले निर्देशन गरेका हुन् । फिल्ममा प्रकाश र वर्षासँगै केकी अधिकारी, प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लु, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ ।
रमेश बिजीको कथा एवं पटकथा लेखन रहेको फिल्मलाई राजेश वंशल र निर्देशक रायमाझी स्वयंले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा मानकृष्ण महर्जनको छायांकन, दीर्घ खड्काको सम्पादन छ । परदेश पुगेका सन्तानको पर्खाइमा रहेका आमाबुवाको कथा फिल्मले पेश गर्छ ।

‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता सुपरहिट फिल्म दिएका रायमाझी ‘परदेशी २’मार्फत निर्देशनमा सफलताको ह्याट्रिक गर्ने दाउमा छन् । यसअघि सार्वजनिक गीत र देशदौडाहाबाट फिल्मले निकै राम्रो हाइप बनाइसकेको छ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com