सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: बडादशैंको अवसर पारेर आगामी कार्तिक ४ अर्थात् फूलपातीबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ टिम यतिबेला आक्रामक प्रचारको तयारीमा जुटेको छ । अहिले काठमाडौं उपत्यका र मोफसलका विभिन्न शहरमा फिल्मको होडिङ्ग बोर्ड राख्ने काम भैरहेको छ ।

काठमाडौं महानगरपालिका भित्र मेयर बालेन शाहले पोस्टर टाँस्न नपाउने नियम ल्याएका छन् । जसले गर्दा निर्माण टिमले काठमाडौं महानगरपालिका भएर चल्ने करिब १ सयबढि सार्वजनिक यातायतमा पोस्टर राखेर फिल्मको प्रचार गर्ने भएको हो । वास्तविक दर्शकसम्म फिल्मको प्रचार पुगोस् भन्ने उद्देश्यले निर्माण टिम ग्राउन्ड जिरो प्रचारमा जुटेको छ ।

फिल्मको निर्माण टिमले काठमाडौंमा ‘बस पब्लिसिटी’ अभियान समेत चलाएका छ । जस अन्तर्गत काठमाडौँका विभिन्न क्षेत्रमा चल्ने एक सय सार्वजनिक बसहरूमा फिल्मको प्रचार सामाग्रीले रङ्गिएका छन् । फिल्मको पोस्टर काठमाडौंमा टाँस्न नपाइने भएकाले विकल्पको रूपमा सार्वजनिक यातायातमा पोस्टरहरू टाँसिएको फिल्मका निर्देशक दीपेन्द्र के खनालले बताए ।

सार्वजनिक यातायातको प्रचार सडकको भित्तामा टाँसिने पोस्टर प्रचारभन्दा बढी खर्चिलो भएको अनुभव सुनाए । खर्चिलो भए पनि बस पब्लिसिटी अभियान प्रभावकारी हुने विश्वास हामीले लिएका छौं निर्माता तथा लेखक खगेन्द्र लामिछानेले बताए । अबको केहीदिनमा फिल्मको ट्रेलर सार्वजनिक गर्दै व्यापक प्रचार प्रसारको तयारीमा रहेको जानकारी उनले दिए ।

फिल्मको यसअघि सार्वजनिक प्रचार सामाग्रीले पनि दर्शकमाझ निकै राम्रो हाइप बनाएका छन् । दीपेन्द्र के खनाल निर्देशित फिल्मले ‘पशुपति प्रसाद’को मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा निर्माण गरिएको हो ।

फिल्ममा सौगात मल्लका अलवा विपिन कार्की, स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । फिल्ममा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा सिवाकोटी पनि विशेष भुमिकामा देखिनेछन् ।

टुकी आट्र्सको ब्यानरमा निर्माण भएको फिल्मलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । फिल्मको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको छ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com