सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: यही दशैंको छेको पारेर प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘परदेशी २’को ट्रेलर सार्वजनिक गरिएको छ ।

असोज २६ गते (आउँदो शुक्रवार)बाट प्रदर्शनमा आउने फिल्मको आज अफिसियल ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

नारायण रायमाझी निर्देशित फिल्मको ट्रेलरमा अध्ययनका लागि युवाको विदेश यात्रा र त्यसले सिर्जना गर्ने पारिवारिक एवं सामाजिक संवेदनालाई देखाइएको छ ।
प्रेम, विछोड, उमंग, द्धन्द्ध सबै पक्षको समीश्रण ट्रेलरमा पाइन्छ । गीतसंगीत पक्षलाई पनि ट्रेलरमा विशेष स्पेश दिइएको छ ।

‘परदेशी २’ गायनमा स्थापित प्रकाश सपूतको डेब्यु र शीर्ष भूमिका रहेको फिल्म भएका कारण ट्रेलरमा उनलाई नै बढी ‘स्क्रिन स्पेश’ दिइएको छ ।
अभिनेत्रीद्धय केकी अधिकारी, वर्षा शिवाकोटीसँगै अभिनेताद्धय प्रशान्त तामाङ र दीलिप रायमाझीलाई पनि ट्रेलरमा देखाइएको छ ।
‘गोर्खा पल्टन’मा लाहुरेको भूमिकामा देखिएका अभिनेता प्रशान्त तामाङ यसपटक पनि सोही भूमिकामा छन् ।

दशैंको परिवेशलाई समेत फिल्मले झल्काउने ट्रेलरबाट बुझ्न सकिन्छ ।

राजेश वंशल र निर्देशक रायमाझीको संयुक्त निर्माण रहेको फिल्ममा प्रकाश, केकी, वर्षा, प्रशान्त र दीलिपका साथमा नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको समेत अभिनय छ ।

रमेश बिजीले फिल्मको कथा एवं पटकथा लेखेका हुन् । मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्धन्द्ध, रामजी लामिछाने र गोविन्द राईको नृत्य निर्देशन रहेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् । यसअघि ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता सुपरहिट फिल्म दिएका निर्देशक रायमाझीको ‘परदेशी २’ तेस्रो चलचित्र हो ।

फिल्म उद्योग र दर्शक दुवैका लागि प्रतीक्षित मानिएको ‘परदेशी २’ले बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com