सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: दशैंको अवसर पारेर यही शुक्रवारबाट प्रदर्शनमा आउने फिल्म ‘परदेशी २’ यतिबेला प्रचार–प्रसारमा जोडतोडले लागिपरेको छ । फिल्म प्रचारका लागि निर्माण टिमले देशका विभिन्न ठूला शहरमा पहिलो चरणको भ्रमण सकेर काठमाडौं फर्किएको छ ।

निर्माण टिमले यतिबेला एकातर्फ काठमाडौंका विभिन्न कलेजमा गीति नाटकमार्फत फिल्मको प्रचारप्रसार गरिरहेको छ । अर्कोतर्फ, फिल्मका कलाकार विभिन्न कार्यक्रमहरुमा समेत पुगेर ‘परदेशी २’हेर्न दर्शकलाई अपील गरिरहेका छन् ।

यसैबीच, फिल्मका निर्देशक एवं कलाकारहरु शनिवार भक्तजनमाझ प्रस्तुत भएका छन् । भक्तपुरको चाँगुनारायण ताथलीमा जारी श्रीमद्भागवत महायज्ञमा पुगेर फिल्मका निर्देशक नारायण रायमाझी, अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारी र वर्षा शिवाकोटीले फिल्मको प्रचारप्रसार गरेका हुन् ।

निर्देशक एवं कलाकारहरुलाई त्यहाँ बाजागाजा र फूलमालाले भव्य स्वागत एवं सम्मान गरिएको थियो । निर्देशक नारायण रायमाझीले सुरुवातमा भक्तजनमाझ भजन प्रस्तुत गरेका थिए । त्यसपश्चात अन्य सांगीतिक प्रस्तुति समेत दिएका उनले घरघरको कथामा ‘परदेशी २’ बनेको बताउँदै फिल्म हेर्न अपील गरेका थिए ।

अभिनेता प्रकाश सपूतले चर्चित गीतहरु प्रस्तुत गर्दा भक्तजनले तालीले स्वागत गरे । उनले ‘परदेशी २’ सामाजिक कथामा पारिवारिक चफिल्म बनेको बताउँदै माया गरिदिन आग्रह गरे ।

अभिनेत्रीद्धय केकी र वर्षाले दशैंको फेस्टिभ माहोलमा मनछुने फिल्म आउँदै गरेको बताउँदै सबैलाई मनपर्ने विश्वास दिलाए । शनिवार महायज्ञमा झण्डै १५ सय भक्तजन उपस्थित थिए । फरक खालका दर्शकमाझ पुग्दा नौलो अनुभूति भएको अनुभव निर्माण टिमको थियो ।

वडादशैंको छेको पारेर असोज २६ गतेबाट प्रदर्शनमा आउने ‘परदेशी २’मा प्रकाश, केकी र वर्षासँगै प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको समेत अभिनय छ ।

रमेश बिजीले कथा एवं पटकथा लेखन रहेको फिल्मले अध्ययनका लागि विदेशिने युवा र सन्तान विदेशिँदा बुढेसकाल लागेका आमाबुवाले भोग्ने पीडालाई प्रस्तुत गर्छ । राजेश वंशल र निर्देशक नारायण रायमाझीले संयुक्त रुपमा फिल्मको निर्माण गरेका हुन् । ८ वर्षअगाडि प्रदर्शनमा आएको यसको अघिल्लो श्रृङखला ‘परदेशी’ले बक्स अफिसमा सुपरहिटको व्यापार गरेको थियो । ‘परदेशी २’प्रति पनि फिल्मकर्मी एवं दर्शकले ठूलो आशा राखेका छन् ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com