सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ:  फिल्म ‘पर्खी बसें तिमीलाई’ डेब्यु अभिनेत्री रक्षा बुढाथोकीलाई काठमाडौँको नैकापस्थित उनले अध्यन गरेको स्कुल ब्राइट फ्युचर स्कुलमा स्वागत गरिएको छ । स्कुल परिवारले यही पुस २७ गते प्रदर्शनमा आउने फिल्मकी अभिनेत्री बुढाथोकीसँगै अभिनेता किरण श्रेष्ठ, निर्देशक दीपक श्रेष्ठ र निर्माता राजाराम बुढाथोकीलाइ स्कुलको प्राङ्गनमा स्वागत गर्दै फिल्म सफलताको शुभकामना दिएको छ ।

स्कुलका प्रधानाध्यापक मोहन कार्कीले अभिनेत्री बुढाथोकीको बाल्यकाललाई स्मरण गर्दै उनको प्रतिभाको तारिफ गरे । उनले भने,‘उनले (रक्षा) बाल्यकाल देखि नै नृत्य गर्थिन् । उनमा कलाकारिताको स्वभाव देखिएको थियो । अहिले उनको पहिलो फिल्म प्रदर्शनको तयारीमा छ । त्यसैले हामी विद्यालय परिवारले उनीसहित टिमलाई यहिँ बोलाएर शुभकामना दिएका हौँ ।’

उनले रक्षाको सफलताले उक्त क्षेत्रमा जान चाहने अन्यलाई पनि प्रोत्साहन गर्ने भएकाले स्कुलकै प्राङ्गनमा कार्यक्रम गरिएको जानकारी दिए । स्कुल जीवन सकाएपछि पुनः त्यहाँ पुगेर आफ्नो कलाकारिताको यात्रामा हौसला पाउँदा खुसी लागेको अभिनेत्री बुढाथोकीले बताइन ।
‘यहाँ आएपछि मैले पुराना समय स्मरण गरें । किनकि कलाकारिताको प्रारम्भ यहिँबाट भएको थियो । आज यहिँबाट शुभकामना र आशिर्वाद पाउँदा धनी भएँ’, अभिनेत्री बुढाथोकीले भनिन्,‘पहिलो फिल्म भएता पनि सक्दो मेहनत गरेकी छु । आज यहाँ पाएको मायाले मेरा जुनियरलाई प्रेरित गर्नुका साथै मलाई समेत हौसला मिलेको छ ।’
सँगै रहेका अभिनेता श्रेष्ठले फिल्मको चर्चित गीत ‘कालो चस्मा’ मा नृत्य गरेका थिए । ‘हाम्रो फिल्ममा प्रेम कथासँगै सामाजिक विषय पनि समेटिएको छ । त्यसैले यो स–परिवार सबैले हेर्न पाउनु हुनेछ’, अभिनेता श्रेष्ठले भने ।
निर्देशक श्रेष्ठले यो पर्खिरहेको व्यक्तिको कथा रहेको बताए । ‘हामीले एउटा सुन्दर कथा लिएर आएका छौँ । यसले सबै वर्गको दर्शकलाई आकर्षित गर्छ भन्नेमा विश्वस्त छौँ’, निर्देशक श्रेष्ठले भने । उनले आफ्नो पहिलो फिल्म ‘गाउँले’ मा समावेश गीत ’गोलि सिसाको मेरो माया’ भन्ने नैकापकै खेल मैदानमा छायांकन गरेको स्मरण समेत गरेका थिए ।
यसबाट अभिनेता किरण श्रेष्ठसँगै अभिनेत्रीद्वय रक्षा बुढाथोकी र अनिशा रसाइलीले डेब्यु गर्दैछन् । निर्देशक दीपक श्रेष्ठले ‘पर्खी बसें’ झैँ यसपटक पनि नयाँ अनुहारलाई डेब्यु गराएको जानकारी दिए । ‘यो त्रिकोणात्मक प्रेम कथामा आधारित फिल्म हो । पर्खी बसें झैँ यसमा पनि नयाँ कलाकारलाई लिएर काम गरेको छु । उहाँहरूलाई फिल्म उद्योगले स्वागत गर्नेमा विश्वस्त छु’, निर्देशक श्रेष्ठले भने ।

उनेल २७ औँ फिल्मको रुपमा ‘पर्खी बसें तिमीलाई’ मार्फत डेब्यु गर्ने कलाकारको भविष्य उज्वल रहेको बताए । फिल्ममा आकाश (किरण) र आभा (रक्षा) को भेट, बढ्ने सामिप्यता, प्रेम र विछोडलाई देखाईएको छ । आकाशले पठाओ चालकको भूमिका निर्वाह गरेका छन् भने आभा सम्पन्न परिवारको छोरीको भूमिकामा छिन् । निर्देशक श्रेष्ठले नयाँ भएता पनि काममा भने उनीहरु परिपक्क रहेको बताए ।

यसमा लोकप्रिय गीत ‘कालो चस्मा लाउ है मैया’ रीमेक गरिएको छ । फिल्म ‘बादलपारी’ मा समावेश लोकप्रिय गीतको रीमेकमा सुरेन्द्र राणाकै शब्द र शम्भुजित बाँस्कोटाको सङ्गीत रहेको छ । गीतलाई गायक प्रमोद खरेल र गायिका मिलन नेवारले गाएका छन् ।
रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको फिल्ममा अनिशा रसाइली, शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।
यसमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।

यसको छायांकन नेपालसँगै सिक्किमको रमणीय दृश्यमा गरिएको छ । फिल्म काठमाडौँ उपत्यकामा करण श्रेष्ठले रीच इन्टरटेनमेन्ट मार्फत र मोफसलमा एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्नेछ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com