सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: नाटकबाट फिल्ममा आउने पछिल्लो नाम हो, किरण श्रेष्ठ । सङ्ख्याको हिसाबले तेह्र (१३) नाटकमा अभिनय गरिसकेका मण्डला थिएटरका किरणले फिल्मतर्फको यात्रा सुरुआत गरेका छन् । चर्चित अभिनेता दयाहाङ राई विद्यार्थीको रुपमा चिनिएका किरणले ‘पर्खि बसें तिमीलाई’ मार्फत डेब्यु गर्न लागेका हुन् । माघेसंक्रान्ति लक्षित गर्दै पुस २७ गते प्रदर्शन हुने फिल्ममा उनले पठाओ चालकको भूमिका निर्वाह गरेका छन् ।

गुडलुकिङसँगै थियटरको रङ्गमञ्चमार्फत अभिनयमा निखारता ल्याउन उनले सातवर्ष लगाएका छन् । उनलाई उक्त बीचमा अभिनेता बन्ने अफर नआएको होइन तर उनले राम्रो टिम र समय पर्खिए ।

उनी एक वेब सिरिजमा अभिनय गर्ने तयारी गर्दै गर्दा निर्देशक दीपक श्रेष्ठले उनलाई अफर गरेका थिए । यो फिल्ममा किरणसँगै रक्षा बुढाथोकी र अनिशा रसाइलीले डेब्यु गर्दैछन् ।

‘थियटरमा काम गरिरहेको थिएँ । आफ्नो कलाकारितालाई विश्वव्यापी बनाउने माध्यम फिल्म पनि हो । अफर आएपछि किन नगर्ने ? भन्ने लागेको हो’, किरणले भने,‘दीपक सरकै पर्खी बसेँमार्फत राज दाइ (राज बल्लभ कोइराला) ले डेब्यु गर्नुभएको थियो । यहिँ नाम पाएपछि झनै उत्साहित भए ।’

उनलाई अभिनय सिकाउने गुरु दयाहाङको जगजगी बक्स अफिसमा छ । उनलाई नाटकबाट फिल्ममा आउने नयाँ पुस्ताको रुपमा हेर्न सकिन्छ । फिल्म र नाटकलाई फरक माध्यम भएकाले उनले दुवैमार्फत कलाकारिता देखाउन खोजेका छन् ।

‘यी दुई माध्यममा अभिनयको भेरिएसन फरक पक्कै छ । थिएटरमा दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरिन्छ । फिल्ममा चाहिं रेकर्डेड हुन्छ । फिल्ममा इमोसनलाई निरन्तरता दिन मुस्किल पर्ने रहेछ’, किरणले अनुभव सुनाउदै भने,‘एउटा कलाकार भएपछि दुवैतर्फ काम गर्न सक्नुपर्छ भन्ने लगेर सुरु गरे । थियटर र फिल्म दुवैलाई निरन्तरता दिन्छु ।’

निर्देशक श्रेष्ठ उनै हुन् जसले ‘पर्खि बसें’बाट राजबल्लभसँगै युना उप्रेतीलाई ब्रेक दिएका थिए । यो फिल्मको कथा अहिलेको परिवेशसँग मिल्दो सामाजिक र प्रेम कथानक छ । उनले यसमा द्वन्द्व, रोमान्स, ड्रामा सबै पाउने बताए । केही समयको अन्तरालमा प्रेम कथामा आधारित फिल्म आएको छ ।

‘कसैको गल्तीबाट प्रेम सम्बन्धमा आउने खटपटको कथा यसको छ । यो समाजको प्रतिविम्ब पनि हो । यसमा युवापुस्तासँगै अभिभावकले पनि रिलेट गर्नुहुनेछ । किनकि हामी दुवैले एक अर्कालाई बुझ्नु जरुरी छ’, किरणले भने ।

उनी आफूमा हिरोरिजम र कलाकारिता दुवै होस् भन्ने चाहन्छन् । त्यहिँ अनुसार उनले आफ्नो करिअरलाई अगाडि बढाउने प्रयास गरिरहेका छन् । समग्रमा उनी कलात्मक र व्यावसायिक दुवै फिल्ममार्फत कलाकारिता देखाउने तयारीमा छन् ।

‘स्टार र कलाकारको आफ्नै विशेषता छ । दुवैले आफ्नो कलाकारिता वा स्टारडममार्फत दर्शकको मन जितेका छन् । भारतमै हेर्ने हो भने दुवै गुण भएका अभिनेता छन् । म दुवै मेकर्सको रोजाईमा पर्ने गरि काम गर्न चाहन्छु’, किरणले भने । उनी ‘पर्खिबसें तिमीलाई’बाट आफ्नो अभिनय, नृत्य र लुक्सको प्रशंसाको अपेक्षा राख्छन् । वर्षमा कम्तीमा दुई नाटक र फिल्म गर्ने उनको योजना छ ।

निर्देशक श्रेष्ठ किरणसँगै रक्षा र अनिशाको भविष्य उज्वल देखन्छन् । ‘युवापुस्तामा पनि उस्तै डेडीकेसन पाए । उनीहरूले गरेको मेहनतले मलाई पुरानो समयको झल्को दियो । यी युवाहरूले प्रविधिको सहजतालाई ग्रहण गरेका छन्, त्यसको फाईदा लिनेमा उनीहरूको ध्यान छैन । अर्थात् मेहनती छन्’, निर्देशक श्रेष्ठले भने ।

रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको फिल्ममा शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । यसमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।

यसको छायांकन नेपालसँगै सिक्किमको रमणीय दृश्यमा गरिएको छ । फिल्म काठमाडौँ उपत्यकामा करण श्रेष्ठले रीच इन्टरटेनमेन्ट मार्फत र मोफसलमा एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्नेछ ।

यसमा लोकप्रिय गीत ‘कालो चस्मा लाउ है मैया’ रीमेक गरिएको छ । फिल्म ‘बादलपारी’ मा समावेश लोकप्रिय गीतको रीमेकमा सुरेन्द्र राणाकै शब्द र शम्भुजित बाँस्कोटाको सङ्गीत रहेको छ । गीतलाई गायक प्रमोद खरेल र गायिका मिलन नेवारले गाएका छन् ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com