सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: निर्देशक दीपक श्रेष्ठले आफ्नो २७ औँ निर्देशकीय फिल्म ‘पर्खि बसें तिमीलाई’ मार्फत नयाँ कलाकारलाई ल्याउदैछन् । थियटरमा सातवर्षमा तेह्र बढी नाटकमा अभिनय गरिसकेका किरण श्रेष्ठ र सम्भावना बोकेकी रक्षा बुढाथोकी लिड रोलमा छिन् । उनीहरूको केमेष्ट्रीलाई दर्शकले रुचाएका छन् । सार्वजनिक गरिएको प्रचार सामग्रीमा जोडीलाई राम्रो प्रतिक्रिया मिलेको छ । तर, तीन दशकको निर्देशकीय यात्रामा निर्देशक श्रेष्ठ खुसी छैनन् ।

उनले नयाँ कलाकारलाई प्रोत्साहन गर्ने शैली हराएको प्रति गुनासो गरे । ‘मैले अधिकाँस फिल्ममा कुनै नकुनै रुपमा नयाँलाई अगाडि ल्याएको छु, अवसर दिएको छु । उहाँहरू आज स्थापित भएको पाउँदा मलाई खुसी लागेको छ । तर, अहिले अवस्था फेरिएछ । नयाँ भएपछि सङ्घर्ष गर्नुपर्ने रैछ’, निर्देशक श्रेष्ठले भने । उनले फिल्म हलदेखि मिडियासम्मको सहयोग नपाएकोमा गुनासो गरेका हुन् ।

उनले दुवै स्थानमा नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने नीतिको कमि रहेको भन्दै चिन्ता व्यक्त गरे । ‘नयाँ कसैलाई चाहिएकै छैन । सबैको खोजाइ पुरानै छ । के अहिले स्थापित पुराना नयाँ थिएनन् ? म फिल्मकर्मी भएकाले नयाँलाई अवसर दिए तर खोइ प्रोत्साहन ? अब आगामी दिनमा नयाँलाइ किन अवसर दिनु ?’, निर्देशक श्रेष्ठले प्रश्न गरे । उनले नयाँलाई अवसर नदिएको वा नपाएको गुनासो धेरै सुनिने भएता प्रोत्साहन दिनेको निकै कमि रहेको भन्दै गुनासो गरे ।

माघेसंक्रान्ति लक्षित गर्दै पुस २७ मा प्रदर्शन हुने फिल्म प्रेम कथामा आधारित छ । यद्यपि यसले युवापुस्तालाई स्वभाविमानी बनाउनुका साथै प्रेममा आउने उतारचढाव र परिवारको दायित्वलाई देखाउने निर्देशक श्रेष्ठले बताए ।

अभिनेता किरण मण्डला नाटकघर हुँदै फिल्ममा आइपुगेका हुन् । उनले सातवर्षमा तेह्र नाटकमा अभिनय गरिसकेका छन् । यसै फिल्ममार्फत मुख्य अभिनेत्रीको रुपमा देखा पर्दै गरेकी अभिनेत्री रक्षाले अडिसन पास गरेर एक फिल्ममा काम गरिसकेपछि अहिले लिड रोलमा देखिएकी छिन् ।

रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको फिल्ममा शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । यसमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।

यसको छायांकन नेपालसँगै सिक्किमको रमणीय दृश्यमा गरिएको छ । फिल्म काठमाडौँ उपत्यकामा करण श्रेष्ठले रीच इन्टरटेनमेन्ट मार्फत र मोफसलमा एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्नेछ ।

यसमा लोकप्रिय गीत ‘कालो चस्मा लाउ है मैया’ रीमेक गरिएको छ । फिल्म ‘बादलपारी’ मा समावेश लोकप्रिय गीतको रीमेकमा सुरेन्द्र राणाकै शब्द र शम्भुजित बाँस्कोटाको सङ्गीत रहेको छ । गीतलाई गायक प्रमोद खरेल र गायिका मिलन नेवारले गाएका छन् ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com