सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: मङ्गलवार काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा पूजा गर्दै फिल्म ‘मोदीबेनी’को शुभमुहूर्त भएको छ । मुहूर्त पश्चात् मङ्गलवार नै फिल्म युनिट छायाङ्कनमा निस्किएको छ ।

यस फिल्ममा अभिनेत्री वर्षा सिवाकोटीले प्रमुख भूमिकामा अभिनय गर्ने भएकी छन् । सिवाकोटी मुहूर्त समारोहमा उपस्थित हुँदै आफूले नव अभिनेता अमर प्रताप श्रेष्ठसँग स्क्रिन शेयर गर्न लागेको जानकारी दिएकी छन् ।

फिल्मको टिमको काम गर्ने तरिका र यसको स्क्रिप्ट मन परेर आफूले ‘मोदीबेनी’मा अभिनय गर्न लागेको सिवाकोटीले बताइन् । “मेरो भूमिका आजसम्म मैले गरिरहेको भन्दा एकदमै भिन्न छ । कथावस्तु पनि चलनचल्तीका फिल्महरूको भन्दा फरक छ । यो फिल्म एक नयाँ प्रयोग पनि हुनसक्छ”, उनले भनिन्, “अहिले दर्शकले पनि केही फरक नै खोजिरहनुभएको छ । त्यसको लागि यो फिल्म उदाहरण बन्न सक्छ ।”

सिवाकोटीले आफूसँग स्क्रिन शेयर गर्न लागेका नव अभिनेता श्रेष्ठ अभिनयको लागि पूर्ण तयार भएको बताइन् । ओजस थिएटरमा दुई वटा नाटकमा प्रमुख भूमिकामा अभिनय गरेका श्रेष्ठले केही विज्ञापन तथा ‘प्रीतको रित’ नामक वेब सिरिजमा प्रमुख अभिनय गरेका छन् । अभिनेता श्रेष्ठले आफू पूर्ण रूपमा चलचित्रको लागि तयार भएर अभिनयमा होमिन लागेको बताए ।

यस फिल्मबाट झण्डै ९ वर्षपछि अभिनेत्री रेजिना उप्रेतीले कमब्याक गर्दैछिन् । उनले पछिल्लो फिल्म ‘वरदान’मा ‘लिड रोल’मा अभिनय गरेकी थिइन् । उप्रेतीले यस फिल्ममा कलाकार दिलीप केसीसँग स्क्रिन शेयर गर्नेछिन् । उप्रेतीले यसबिचमा आफूलाई अफर आएका फिल्महरूमा भूमिका मन नपरेर अभिनय नगरेको बताइन् । यस फिल्ममा आफूले अहिलेसम्म नगरेको सशक्त भूमिकामा अभिनय गर्न लागेको रेजिनाले बताइन् । अभिनेता दिलीप केसीले समाज परिवर्तनको लागि क्रान्ति गर्ने पात्रको भूमिकामा आफूले अभिनय गर्न लागेको बताए ।

अभिनेता सरोज खनालले पनि फिल्ममा प्रमुख भूमिका निभाउनेछन् । फिल्ममा अमर, सरोज, रेजिना, वर्षा, दिलीपका अलावा कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिस लगायतको अभिनय रहनेछ । प्रमुख कलाकार अमरसहित अन्य केही कलाकारहरू अडिशनमार्फत् समेत छनोट गरिएको हो ।

फिल्मका निर्देशक शङ्कर कोइरालाले यो फिल्म पर्वत जिल्लाको सेरोफेरोमा घटेको घटनामा आधारित रही सामाजिक कथामा बन्ने बताए । डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने यो फिल्मलाई आनन्द बिक्रम क्षेत्रीले लेखेका छन् । फिल्ममा दिलीप के.सी. निर्माता र हरि श्रेष्ठ सह-निर्माता रहेका छन् । करिब पैँतिस-चालिस वर्ष पहिले र हालको कथालाई मिश्रण गरी बनाइने यो फिल्मले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रको कथा भन्नेछ ।

फिल्ममा उत्सव दाहालको डिओपी, दिपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन, श्याम बरालको मेकअप, गिता पौडेलको हेयर डिजाइन, भिम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन रहनेछ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com