सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अमेरिकाबाट फर्किए लगत्तै माघ २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘हात्तीछाप’को प्रचारमा देखिएका नायक दयाहाङ राई उत्साहित देखिए । उनले पत्रकारहरुसँग कुराकानी गर्दै यो फिल्मको कथावस्तु आफूलाई निकै मन परेकाले काम गरेको बताए । किन ‘हात्तीछाप’ साइन गर्नुभयो भन्ने प्रश्नमा दयाले भने–‘पहिलो कुरा त यो फिल्मको कथावस्तु निकै नै राम्रो छ । दोस्रो कुरा निर्देशक सिमोस सुनुवारसँग लामो समयदेखि काम गर्ने बिषयमा छलफल भइरहेको थियो । पहिले पनि काम गर्ने भनेर गर्न पाइएन । यसैले, यसपटक सिमोसको निर्देशनमा काम गर्न म उत्साहित भएको हुँ ।’

दयाले यो फिल्मबाट आफू सन्तुष्ट रहेको बताए । भने–‘यसको मुख्य उद्देश्य त व्यवसायिकता नै हो । तर, पनि फिल्मले समाजका विभिन्न बिषयवस्तुलाई समेटेको छ । यो फिल्म दामी बनेको छ । यसैले, म उत्साहित छु ।’
दयासँगै रहेकी नायिका उपासना सिंह ठकुरीले पनि यसको कथावस्तु शक्तिशाली रहेको बताइन् । फिल्म भित्रका दयाहाङ कस्ता प्रेमी हुन् भन्ने प्रश्नमा उपासनाले भनिन्–‘फिल्म भित्र दयाहाङ अम्बरेको पात्रमा हुनुहुन्छ । जसले, आफ्नी प्रेमिकालाई मात्र नभएर सिंगो समाज र देशको बारेमा सोच्छ । जसको मनमा कुनै पनि स्वार्थ छैन ।’
फिल्मको ट्रेलरमा भुकम्पको दृश्य पनि समावेश गरिएको छ । यो फिल्मले भुकम्पको कथा नै भन्न खोजेको हो या अरु के हो भन्ने प्रश्नमा दयाले भने–‘त्यो एउटा पार्ट मात्र हो । यसको स्टोरीको संसार छुट्टै छ । भुकम्पले फिल्मको कथा संसारमा एउटा नयाँ समस्या थप्छ ।’

मिडियाकर्मीसँग कुरा गर्दै उपासनाले भनिन्–‘यो फिल्मले नेपाली दर्शकलाई भावनामा जोड्छ । यसलाई व्यवसायिक फिल्मको रुपमा मात्र हेर्नु हुदैन । सबै नेपालीहरुले भोगेको बिषयलाई लिएर कथा बनाइएको छ ।’
फिल्मले पैसाको कथालाई पनि उठान गरेको दयाले बताए । यो फिल्मले आम नेपालीहरुको कथालाई जोड्ने उनको भनाई छ । दयाले, यो फिल्म लामो समयपछि पनि दर्शकले संझन सक्ने दाबी गरे ।

किरण नेपालीको प्रस्तुतीमा सिमोस सुनुवारले निर्देशन गरेको यो फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, बिजय बराल, विल्सन विक्रम राई, वुद्धि तामाङ लगायतका कलाकारको पनि अभिनय छ ।

कार्तिकको २४ गतेबाट रिलिजमा आएको दयाहाङ अभिनित फिल्म ‘दिमाग खराब’पछि कुनै पनि नेपाली फिल्मले व्यापारिक रुपमा सफलता हात पारेका छैनन् । यसैले, ‘हात्तीछाप’बाटै बक्स अफिसलाई चलायमान बनाउनुपर्ने चुनौती पनि दयाको काँधमा छ । यसपटक, ‘कबड्डी र २ नम्बरी’का सहयात्री सौगात मल्ल पनि उनको साथमा भएकाले उनलाई केही सहज हुने पक्का छ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com