सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने फिल्म ‘रङ्गेली’ले ‘मिम च्यालेञ्ज’ घोषणा गरेको छ । यसमा विजेताले नगद, स्मार्टफोन र प्रिमियर पास प्राप्त गर्नेछन् ।

यो च्यालेञ्जमा सहभागी हुन युट्युबमा रहेका फिल्म ‘रङ्गेली’का टिजर र गीतहरूबाट स्क्रिनशट निकाली ‘मिम’ तयार गरी सोसल मिडियामा पोस्ट गर्नुपर्नेछ । यो च्यालेञ्ज विश्वका जुनसुकै स्थानबाट लिन सकिनेछ । जुनसुकै सोसल मिडियामा मिम पोस्ट गर्दा #Rangelimovie #rangelifalgun25 #rangeli ह्यासट्याग किवर्डहरू प्रयोग गरेको हुनुपर्नेछ ।

विजेता छान्दा फिल्म टिमले सृजनशीलता र मिमले प्राप्त गरेको लाइक, शेयर र कमेन्टको सङ्ख्यालाई आधार मान्ने कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले बताए । खतिवडाका अनुसार उत्कृष्ट मिम बनाउनेले नगद रु. १०,०००।- (दश हजार) र युमिडिजीको स्मार्टफोन प्राप्त गर्नेछन् । त्यस्तै, दश जनाले फिल्म ‘रङ्गेली’को प्रिमियर शो को पास प्राप्त गर्नेछन् ।

‘रङ्गेली’लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका छन् । यसमा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ । फिल्मका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई बशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । फिल्मका एशोसियट निर्माता भने विवेक खड्का (योलो) हुन् ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com