सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ : फागुन २५ गते रिलिज हुने नेपाली फिल्म ‘रङ्गेली’को प्रेम भावयुक्त गीत सार्वजनिक भएको छ । ‘घामले तारा’ बोलको यस गीतको भिडियोमा फिल्मका प्रमुख कलाकार द्वय दयाहाङ राई र मिरुना मगरले प्रेम भाव व्यक्त गरिरहेका छन् ।

ग्याङ्गस्टर श्रेणीको यस फिल्ममा दया र मिरुनाले फरक भूमिकामा अभिनय गरेता पनि प्रेमका कुरा समेत फिल्ममा रहेको यस गीतबाट बुझ्न सकिन्छ । मिरुनाले फिल्ममा आफ्नो चरित्र प्रेम भन्दा माथि रहेको खुलासा गरिसकेकी छन् । यस गीतबाट उनको पात्र चित्रणलाई लिएर थप कौतुहलता बढेको छ ।

गीतमा निशान भट्टराई र अन्नु चौधरीको स्वर रहेको छ । यसमा हर्क साउदको शब्द रचना तथा सुशान्त गौतमको सङ्गीत रहेको छ । म्युजिक प्रोड्युसर रिकेश गुरुङ किज हुन् । युरोपको विश्व प्रतिष्ठित ‘बुढापेस्ट अर्केस्ट्रा’मा यस गीतको सङ्गीत रेकर्डिङ भएको हो । नेपाली फिल्मले पहिलो पटक यस प्रकारले गीत तयार पारेको हो ।

‘रङ्गेली’लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका छन् । फिल्ममा दयाहाङको साथमा मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यस फिल्मका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

फिल्मका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com