सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । फिल्म ‘पाँच पाण्डव’ले केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल सर्टिफिकेट पाएको छ । समितिले आज बिहान फिल्मलाई उक्त प्रमाणपत्र प्रदान गरेको हो ।
युनिभर्सल सर्टिफिकेट पाएसँगै अब जुनसुकै उमेर समूहका दर्शकले फिल्म हेर्न पाउनेछन् । निर्माण पक्षले ‘पाँच पाण्डव’ परिवारका सबै सदस्य एकसाथ बसेर हेर्न मिल्ने फिल्म बनेको जनाएको छ । ‘पाँच पाण्डव’ यही कात्तिक २० गतेदेखि प्रदर्शनमा आउँदैछ। फिल्मलाई वसन्त निरौलाले निर्देशन गरेका हुन्।
फिल्ममा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला, इभा गिरी र दीपाश्री निरौलालगायत कलाकार मुख्य भूमिकामा छन्। काली रानी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने र रितेश पौडेल (रितेशजंग खत्री)लगायत कलाकारको पनि अभिनय रहेको छ।
फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन्। उनले यसअघि गत वर्ष ‘लाज शरणम्’ निर्माण गरेका थिए। फिल्मकी निर्माता काली रानी श्रेष्ठ हुन्। ‘पाँच पाण्डव’को कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन्। लेखक पौडेलका अनुसार यो सामाजिक कथामा आधारित फिल्म हो। महाभारतका पाँच पाण्डवका चरित्र र विम्बलाई प्रयोग गर्दै फिल्मले समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ।
फिल्मको छायांकन श्याम तामाङले गरेका छन् भने सम्पादन सुप्रिम पराजुलीको छ। द्वन्द्व निर्देशन सम्राट बस्नेतले गरेका छन्। गम्भीर विष्ट र विक्रम स्वाँरले नृत्य निर्देशन गरेका छन्।
फिल्ममा दर्शकले डल्बी एटमस ध्वनि प्रविधिको अनुभव लिन पाउने निर्माण पक्षले जनाएको छ। फिल्ममा अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको ध्वनि संयोजन, सुजिल कर्माचार्यको पृष्ठभूमि संगीत र पुकार धिमालको दृश्य प्रभाव रहेको छ। रोहित राज गौतम मुख्य निर्माण व्यवस्थापक र विष्णु बुढाथोकी निर्माण व्यवस्थापक छन्। फिल्मको डिजिटल साझेदार ओएसआर डिजिटल रहेको छ। रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले फिल्मलाई देशव्यापी वितरण गर्नेछ।






प्रतिक्रिया