सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । फिल्म ‘पाँच पाण्डव’को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टोलीले मंगलबार काठमाडौँमा कार्यक्रम आयोजना गर्दै फिल्मको दोस्रो ट्रेलर सार्वजनिक गरेको हो। ट्रेलरमा फिल्मका मुख्य पात्रले आफ्नो भूमिकालाई स्पष्ट पार्ने प्रयास गरेका छन्। ट्रेलरको केन्द्रमा अभिनेता हरिवंश आचार्य छन्। पूरै ट्रेलर उनकै चरित्रको वरिपरि घुमेको छ।
पृथ्वीमा रहेका आफ्ना भाइहरू दुःखी भएको थाहा पाएपछि युधिष्ठिर अर्थात् हरिवंश पृथ्वीलोक आइपुग्छन्। समस्यामा परेका भाइहरूलाई कसरी त्यसबाट मुक्त गराउने भन्ने उनको मुख्य उद्देश्य देखिन्छ। उनले भीम, अर्जुन र सहदेव भन्दै विभिन्न पात्रलाई आफ्ना भाइका रूपमा चिनाउँछन्। त्यसपछि उनी समस्यामा परेका पात्रहरूलाई सहयोग गर्दै हिँड्छन्।
ट्रेलरमा हरिवंश अन्याय र सामाजिक विकृतिविरुद्ध उभिएको देखिन्छ। समस्यामा परेका मानिसको उद्धार गर्ने पात्रका रूपमा उनलाई प्रस्तुत गरिएको छ। क्यासिनोमा छोटा कपडा लगाएका युवती देखेपछि उनले उनीहरूको शरीर ढाकिदिएको दृश्य पनि ट्रेलरमा समेटिएको छ। यसले सभ्य समाज निर्माण गर्ने उनको उद्देश्यलाई संकेत गर्छ।
अन्याय, हिंसा र अत्याचारविरुद्ध पाँच भाइले गर्ने संघर्ष र विद्रोहलाई ट्रेलरमा मुख्य रूपमा प्रस्तुत गरिएको छ। फिल्मको मूल कथ्य पनि यही विषयमा केन्द्रित रहेको ट्रेलरले संकेत गर्छ।
यही कात्तिक २० गतेदेखि प्रदर्शनमा आउने फिल्मलाई वसन्त निरौलाले निर्देशन गरेका हुन्। ‘पाँच पाण्डव’मा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला, इभा गिरी र दीपाश्री निरौलालगायत कलाकार मुख्य भूमिकामा छन्।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने र रितेश पौडेल (रितेशजंग खत्री)लगायत कलाकारको पनि अभिनय छ।
फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् भने निर्माता काली रानी श्रेष्ठ हुन्। नवीनले यसअघि ‘लाज शरणम्’ निर्माण गरेका थिए। फिल्मको कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका छन्। लेखक पौडेलका अनुसार यो सामाजिक कथामा आधारित फिल्म हो। यसले महाभारतका पाँच पाण्डवका चरित्र र विम्ब प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ।
फिल्मको छायाङ्कन श्याम तामाङले गरेका छन् भने सम्पादन सुप्रिम पराजुलीको छ। द्वन्द्व निर्देशन सम्राट बस्नेतले गरेका छन्। गम्भीर विष्ट र विक्रम स्वाँरको नृत्य निर्देशन रहेको फिल्ममा अर्जुन पोखरेलको सङ्गीत छ।
फिल्ममा उत्तम न्यौपानेको ध्वनि संयोजन, सुजिल कर्माचार्यको पृष्ठभूमि सङ्गीत र पुकार धिमालको दृश्य प्रभाव रहेको छ। रोहित राज गौतम मुख्य निर्माण व्यवस्थापक र विष्णु बुढाथोकी निर्माण व्यवस्थापक छन्।
फिल्ममा दर्शकले डल्बी एटमस ध्वनि प्रविधिको अनुभव गर्न पाउने निर्माण टोलीले जनाएको छ। ओएसआर डिजिटल फिल्मको डिजिटल साझेदार हो भने रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले देशव्यापी वितरण गर्नेछ।






प्रतिक्रिया