सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: शुक्रवारदेखि सफलताका साथ चलिरहेको फिल्म ‘रङ्गेली’मा युवापुस्ताका लोकप्रिय अभिनेता आर्यन सिग्देलले दर्शकलाई ‘सरप्राइज’ दिएका छन् ।

फिल्मको क्लाइमेक्समा खल पात्रको भयङ्कर स्वरूप र अभिनयमा देखिने सिग्देललाई दर्शक अत्यधिक रुचाएका छन् । आर्यनको सोही भूमिकाको लुक्समा पोस्टर र केही फोटोहरू सार्वजनिक गरिएको छ । उनलाई फिल्ममा सन्की गुण्डाको भूमिकामा देखाइएको छ ।

फिल्ममा आर्यनको ‘इन्ट्री’ पश्चात् रङ्गेलीको दोस्रो भागमा अभिनेता दयाहाङ राई र उनको ‘क्ल्यास’ हुने अवस्था रहेको छ । दोस्रो भाग निर्माण घोषणाको यो नौलो प्रयोग हो । दोस्रो भागमा आर्यन र दयाहाङ प्रमुख भूमिकामा हुनेछन् । लेखक तथा निर्देशक अर्जुन सुवेदीले दोस्रो भाग सकेसम्म छिटो बनाउने कोसिस गर्ने जनाए ।

रिलिजको दोस्रो दिन पनि फिल्म ‘रङ्गेली’ले उत्साहजनक व्यापार गरेको थियो । आइतबार बिहानैदेखि पनि फिल्म हेर्ने दर्शक हलमा बाक्लो रूपमा देखिएका छन् । दर्शकको ‘वर्ड अफ माउथ’का कारण दर्शकको सङ्ख्या बढिरहेको देखिएको छ । अभिनेता दयाहाङ राईलाई एकै प्रकारका चरित्रमा देखिरहेको समयमा फिल्ममा फरक भूमिकामा पाउँदा दर्शकले तारिफ गरेका छन् ।

‘रङ्गेली’मा दयाहाङ राई र मिरुना मगरको साथमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । फिल्मका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

फिल्मका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com