सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । नेपालमा सफलतापूर्वक प्रदर्शन भइसकेको सामाजिक विषयवस्तुमा आधारित नेपाली फिल्म ‘हली’ अब बेलायतमा पनि प्रदर्शन हुने भएको छ। जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायू फिल्मस्को सहकार्यमा निर्माण भएको फिल्म आगामी असोज ४ गते बेलायतको अल्डरशटस्थित ‘प्रिन्सेस हल’मा विशेष प्रदर्शनीका रूपमा देखाइने भएको हो।

बेलायतस्थित आयोजक संस्था सपन इन्टरटेनमेन्ट लिमिटेडका अनुसार फिल्म प्रदर्शनको सम्पूर्ण तयारी पूरा भइसकेको छ। बेलायतमा रहेका नेपाली दर्शकलाई लक्षित गर्दै उनीहरूलाई ‘हली’को कथासँग जोड्न विशेष प्रदर्शनी आयोजना गर्न लागिएको निर्माताद्वय पूजा गुरुङ र जस्मिन श्रेष्ठले जानकारी दिएका छन्।

ओम प्रतीकको लेखन तथा निर्देशनमा बनेको फिल्मले छाउपडी प्रथाका कारण बालिकाहरूले भोग्नुपरेको सामाजिक पीडा र दुर्व्यवहारलाई मुख्य विषयवस्तु बनाएको छ। सामाजिक तथा देशगत परिवर्तनका लागि एक जना ‘हली’ नै काफी हुन्छ भन्ने सन्देश बोकेको फिल्मको ट्रेलर, प्रमोशनल गीत र पोस्टरले नेपालमा प्रदर्शनका क्रममा दर्शकमाझ चर्चा कमाएका थिए।

फिल्ममा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीलगायत कलाकारको अभिनय रहेको छ। निर्देशक ओम प्रतीक पनि फिल्ममा अभिनय गरेका छन्।

फिल्मको विशेष आकर्षणका रूपमा रहेको प्रमोशनल गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्मालगायत कलाकारको नृत्य हेर्न सकिन्छ। फिल्ममा अर्जुन भुसाल कार्यकारी निर्माता, नम्रता भण्डारी सह–निर्मात्री, लक्ष्मण कर्माचार्य लाइन प्रोड्युसर र जीवननाथ गौतम मुख्य सहायक निर्देशकका रूपमा रहेका छन्।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com