सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । फिल्म ‘सिन्दुरे जात्रा’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार विजय बराल र अञ्जना बराइलीलाई भावुक अवस्थामा प्रस्तुत गरिएको छ।

पोस्टरमा विजयको छातीमा टाँसिएकी अञ्जना रोइरहेको देखिन्छिन् भने विजयका आँखामा पनि आँसु छ। गाउँले परिवेश झल्काउने पोस्टरमा दुवै पात्र कुनै मेला वा महोत्सवमा सहभागी हुन गएको अनुमान गर्न सकिन्छ। सफा र चिटिक्क परेका लुगा लगाएको जोडीको पहिरनले ग्रामीण परिवेशको जनजीवनलाई चित्रण गरेको छ।

बुलाकी, नौगेडी र माडवारी लगाएकी अञ्जनाको पहिरनले उनको पात्रलाई परम्परागत नेपाली परिवेशसँग जोडेको देखिन्छ। पोस्टरको पृष्ठभूमिमा देखिएको मन्दिर र त्यहाँ लागेको भीडले जात्रामा सहभागी हुन पुगेको जोडी कुनै समस्यामा परेको संकेत गर्छ। त्यस्तै, अञ्जनाको बिग्रिएको कपालले उनीमाथि कुनै अप्रिय घटना घटेको हुन सक्ने संकेत गरेको छ।

फिल्मको शीर्षकअनुसार पोस्टरमा प्रयोग गरिएको रङ संयोजनले कथाको भाव र फिल्मको समग्र मुड झल्काउने प्रयास गरेको छ।

सरोज पौडेलको निर्देशनमा बनेको ‘सिन्दुरे जात्रा’मा नेपाली फिल्म क्षेत्रको सफल जोडी विजय बराल र अञ्जना बराइली मुख्य भूमिकामा छन्। उनीहरूको यो दोस्रो सहकार्य हो। यसअघि उनीहरूले नेपाली फिल्म इतिहासकै सफल फिल्ममध्ये एक ‘पूर्णबहादुरको सारङ्गी’मा सँगै काम गरेका थिए।

फिल्ममा विजय र अञ्जनासँगै विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोला राज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय रहनेछ।

सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको फिल्मको कथा निर्देशक पौडेल स्वयंले तयार पारेका हुन्। सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्माता नेम महर्जन हुन्। राकेश खड्का र श्याम मगर सहनिर्माता रहेको फिल्ममा सुमन रञ्जित एसोसिएट निर्माता तथा अनिश अधिकारी लाइन निर्माता छन्।

दिनेश खड्का कार्यकारी निर्माता रहेको फिल्ममा पदमबहादुर श्रेष्ठ (बाबु)को छायांकन, सुरेन्द्र पौडेलको सम्पादन तथा विशाल घिमिरेको क्रिएटिभ निर्देशन रहेको छ। फिल्ममा प्रशान्त शिवाकोटी, रिदम कँडेल र नन्दु परियारको संगीत रहनेछ।

आगामी मंसिर १८ गते प्रदर्शनमा आउने फिल्मको वितरण जिम्मेवारी नेसनल सिने ग्रुप नेपालले सम्हालेको छ। बिग मुभिज थिएटर पार्टनर तथा ओएसआर डिजिटल डिजिटल पार्टनरका रूपमा रहेका छन्।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com