सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको नेपाली फिल्म ‘अञ्जिला’को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ । फिल्मका निर्देशक मिलन चाम्सले पोस्टर सार्वजनिक गर्दै छिट्टै नै उपयुक्त रिलिज मिति तय गर्ने बताए ।

पोस्टरमा अञ्जिला र अभिनेता दयाहाङ राईलाई स्थान दिइएको छ । पोस्टरबाट अञ्जिलाको ग्रामीण जीवनको सङ्घर्षदेखि खेल जीवनसम्मको कथा यो चलचित्रमा रहेको अनुमान गर्न सकिन्छ । अभिनेता राईको भूमिकाबारे भने पोस्टरले केही बोलेको छैन ।

अञ्जिलाकै जन्मथलो इलामको आइतबारे सहित झापा र काठमाडौँमा यस फिल्मको छायाङ्कन भएको छ । फिल्ममा अञ्जिला स्वयंको मुख्य भूमिका रहेको छ । उनीसँगै यसमा दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्का, मञ्जु श्रेष्ठ, वेदना राई, सिद्धार्थ सिंह, सुरज तमु, सुमिन गुरुङ, विष्णु मोक्तान लगायतको पनि अभिनय रहनेछ । फिल्मका निर्माता प्रेम कुमार श्रेष्ठको पनि यस चलचित्रमा प्रमुख भूमिका रहेको छ । श्रेष्ठले वास्तविक जीवनकै भूमिका निभाएका छन् ।

निर्देशक चाम्सले आफ्नो निर्देशन करियरमा यो फिल्मले फरक प्रकारको छाप छोड्ने दाबी गरेका छन् । अञ्जिलाको बालापनदेखि खेल जीवनसम्मको कथामा उनले फुटबलर बन्नका लागि गरेको सङ्घर्ष र सफलताको कथालाई फिल्ममा जोड दिएको निर्देशक चाम्सले जानकारी दिए । सफल खेलाडी बन्नु अगाडि अञ्जिलाले धेरै दुःखहरू भोगेको र इच्छाशक्ति भएदेखिन् असम्भव भन्ने कुरा नहुने सन्देश फिल्मले दिने चाम्सले बताए । निर्देशक चाम्सले यो फिल्म ठ्याक्कै अञ्जिलाको बायोपिक भने नभएको बताए । उनले ७५ प्रतिशत अञ्जिलाकै जीवनी हुने तर बायोपिक भने नहुने बताए ।

सुदीप बरालको डिओपी रहेको यस फिल्मका सम्पादक मिलन श्रेष्ठ हुन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्मका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् भने विनोद अग्रवाल र राजेश बगडिया सह-निर्माता हुन् । विनोद सुवेदी खत्री यसका निर्माण नियन्त्रक हुन् ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com