सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेता पुष्प खड्काले शङ्कर कार्कीले निर्देशन गर्न लागेको फिल्म ‘सिड्नी ब्लुज’मा अभिनय गर्ने भएका छन् । शुक्रवार निर्माण पक्ष र पुष्पलले कागजी सम्झौता गरेका छन् ।

हाल प्रि प्रोडक्सनमा रहेको यो फिल्ममा पुष्पलसँगै अञ्जना बराइली, रवीन्द्र झा, शिव आर. ठकुरी लगायतको प्रमुख भूमिका रहने छ । शिवले यसै फिल्म मार्फत नेपाली चलचित्रमा डेब्यु गर्दै छन् ।

जुन २०२४ को पहिलो हप्ताबाट छायाङ्कनको लक्ष्य रहेको यस फिल्ममा आफ्नो देशको सम्भावनालाई नकारी विदेशी जीवन बिताउने वर्तमानका युवाहरूको कथा रहेको निर्देशक कार्कीले बताए । “अस्ट्रेलिया बस्ने युवक जसको जीवन बाहिर देख्दा निकै सुन्दर तर यथार्थमा अन्धकार छ । सो युवकको कथा यो फिल्म मार्फत भन्ने प्रयास गर्नेछु,” निर्देशकले बताए ।

यसको छायाङ्कन ७० प्रतिशत अस्ट्रेलिया र ३० प्रतिशत नेपालमा हुनेछ । यसको छायाङ्कनको समयमा नेपाली फिल्ममा खासै प्रयोग नगरिएको ‘मिनेचर सेट’ र ‘प्रोस्थेटिक मेकअप’को प्रयोग हुने निर्देशक शङ्कर कार्कीले बताए ।

अभिनेता पुष्पलले फिल्ममा आफूले चार किसिमको लुक्समा र चुनौतीपूर्ण भूमिकामा अभिनय गर्नुपर्ने बताए । उनले निर्देशकको सोचलाई पूरा गर्न आफूले सके जति मेहनत गर्ने जनाए ।

फिल्मको कथा शिव आर ठकुरीको हो भने पटकथा लेखक किरण घिमिरे (माइकल) हुन् । सुसन प्रजापतिले छायाङ्कन गर्ने फिल्मका निर्माण व्यवस्थापक प्रकाश हमाल हुन् । कुटुम्ब ब्यान्डले ब्याकग्राउन्ड स्कोर दिने चलचित्रका कोरियोग्राफर रामजी लामिछाने हुन् ।

आर्ट मुभिजको प्रस्तुतिमा डि मिडियाले बनाउने यो फिल्मको रिलिज लक्ष्य २०२४ को डिसेम्बर रहेको छ । चलचित्रकी निर्माता आरती शाही हुन् । तारा नेपाली कार्यकारी निर्माता र एशोसियट निर्माता धर्म सुवेदी हुन् ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com