सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह मुख्य भूमिका रहेको फिल्म ‘पुजार सार्की’को प्रदर्शन मिति तय भएको छ।  निर्माण टिमले शुक्रबार फिल्मका दुई पोस्टर सार्वजनिक गर्दै फिल्मको रिलिज डेट लक गरेको छ।  अब भने फिल्म आगामी जेठ १० गते बिहीबार बुद्ध जयन्तीको अवसर पारेर विश्वव्यापी रिलिज हुने भएको छ। हालै सार्वजनिक भएको दुई पोस्टर मध्ये एक पोस्टरमा निधारमा रातो टिका लगाएका अभिनेता प्रदीप खड्काले दमाहा बजाइरहेका छन् भने अभिनेता द्वय आर्यन सिग्देल र पल शाह आ-आफ्नो चरित्रमा छन्। अर्को पोस्टरमा आर्यनलाई भलाद्मी, पललाई नेतृत्वदायी र प्रदीपलाई केही निर्धो भूमिकामा चित्रण गरिएको छ। पोस्टरले यी तीन पात्र साथी रहेको बुझ्न सकिन्छ। चौतारोमा बसी पलले गफ हाँकिरहेका छन् भने आर्यन र प्रदीपले हँसिलो मुद्रामा सुनिरहेका छन्।

दिनेश राउत निर्देशित फिल्मको कथा जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षमा आधारित रहेको छ। फिल्मलाई सङ्गीतकार सुवास भुसालले निर्माण गरेका हुन्। एक दर्जन चलचित्रमा सङ्गीत दिएका भुसालले पहिलो पटक चलचित्र निर्माण गरेका हुन्। यसमा पनि निर्माता भुसाल आफैले सङ्गीत तयार गरेका छन्। हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीले यसका गीत रचना गरेका छन् भने प्रकाश सपूत, शान्ति श्री परियार, केतन क्षेत्री, देबेन्द बराल र मुना थटालले स्वर दिएका छन् ।

राजेश श्रेष्ठको डिओपी रहेको ‘पुजार सार्की’लाई सुप्रिम पराजुलीले सम्पादन तथा कलर ग्रेडिङ गरेका छन् भने साउण्ड डिजाइन उत्तम न्यौपाने, ब्याकराउण्ड स्कोर शैलेश श्रेष्ठ, कस्ट्युम डिजाइन आशिष पौडेल, प्रोडक्शन डिजाइन कसम नेपाल, प्रोडक्शन कन्ट्रोल मनोज जोशी र प्रोडक्शन व्यवस्थापन विदुर मानन्धरको रहेको छ।

हिमाल केसीले द्वन्द्व निर्देशन गर्ने ‘पुजार सार्की’का मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत हुन्। राजेश राज गिरी, तर्क राज न्यौपाने र आयुष दाहाल सहायक निर्देशक रहेका छन्। यसका कला निर्देशक साजन बस्ताकोटी र सदिक्षा महत्रा हुन् भने माधव प्रसाद पाण्डेको मेकअप र प्रिया रोक्काको मेकअप रहेको छ। किङ्गडम नेटवर्कको ब्यानरमा बनेको फिल्मलाई आरआर फिल्मसले वितरण गर्दै छ।

आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह मुख्यका अलावा फिल्ममा अञ्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ।

त्यसो त पूजार सार्कीसँगै फिल्म ‘दान्भी’ र ‘फर्की फर्की’ पनि सोहि दिन रिलिज हुदैछन।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com