सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: आगामी वर्ष २०८१ मा रिलिज हुने मेगा प्रोजेक्ट फिल्म ‘बलिदान’मा अभिनेता दिव्य देवको इन्ट्री भएको छ। भर्खरै मात्र दिव्य र बलिदान टिम बीच कागजी सम्झौता भएको हो। फिल्ममा उनि प्रमुख भूमिकाहरु मध्ये एकमा देखिने निर्माण टिमको जानकारी रहेको छ।

निर्देशक सन्तोष सेनले मेगा प्रोजेक्ट ‘बलिदान’बाट प्रमुख अभिनेताको रूपमा अभिनेता बिराज भट्टका छोरा समीर भट्टले डेब्यु गर्दै छन्। यसअघि अभिनेता द्वय सौगात मल्ल र अर्पण थापा तथा अभिनेत्री ऋचा शर्मा अनुबन्ध भइसकेका छन्। सबै स्टार कलाकारहरूको अभिनय रहने यस चलचित्रलाई लिएर ठुलो अपेक्षा गरिएको छ।

हाल पूर्वी नेपालको इटहरीमा फिल्मको सेट डिजाइनको काम भइरहेको छ। फिल्मकोकरिब ६० प्रतिशत छायाङ्कन स्टुडियोमा नै हुँदैछ। निर्देशक सेनले फिल्मको कथामा आउने देश काल र परिस्थितिलाई दुरुस्त झल्काउने लोकेसन खोज्नुपर्ने चुनौतीका बिच सेट डिजाइन भइरहेको बताए।

हुनत ‘बलिदान’को टिजर छायाङ्कन अगावै रिलिज भई व्यापक चर्चामा रहेको छ। सम्भवतः नेपाली फिल्मको इतिहासमा नै पहिलो पटक प्री-प्रडक्शनमा रहँदा नै टिजर रिलिज भएको हो।

देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथामा आधारित रहेर फिल्म बनाउने निर्माण टिमले जानकारी दिदै आएको छ।

आसुसेन फिल्मस् प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने यस फिल्ममा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा सह निर्माता प्रेम पुरी रहेका छन्।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com