सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

रंगखबर, काठमाडौँ: प्रदिप खड्काको मुख्य भूमिका रहने फिल्म ‘ऐरी’मा भुटानका चर्चित कलाकार सांगे सेल्ट्रिम अनुवन्धित भएका छन। सांगे र फिल्मका निर्देशक जीवन थापाबिच बुधबार कागजी संझौता भएको छ । फिल्मका लागि संझौता गर्न उनि मंगलबार नेपाल आएका थिए । फिल्ममा सांगेको भूमिका के हुने हो भन्ने बिषयमा निर्माणपक्षले केही पनि खुलाएको छैन ।

फिल्ममा काम गर्न पाउँदा आफू निकै उत्साहित भएको सांगेले बताएका छन् । फिल्ममा अनुवन्धित भएपछि ‘जवान’ अभिनेताले भने–‘मैले यो फिल्ममा काम गर्नुको मुख्यकारण यसको कथावस्तु हो । यसको कथावस्तु ऐतिहासिक छ । साथमा, मलाई सधै नै योद्धाको कथामा काम गर्न मन थियो । यसैले, यो फिल्मबाट मेरो सपना पुरा हुँदैछ ।’

बलिउड र नेपाली फिल्म क्षेत्रको सहकार्य हुन लागेकाले पनि आफू यो फिल्ममा काम गर्न उत्साहित भएको सांगेले बताएका छन् ।

सांगेले नेपाल र भुटानको सम्बन्धलाई अझै उचाईमा लैजानका लागि पनि आफूले यो फिल्म साइन गरेको बताए । साथै, उनले फिल्मका निर्देशक जीवन थापा र नायक प्रदिप खड्का प्रतिभाशाली भएकाले पनि काम गर्न उत्साहित भएको तर्क गरे ।

यो फिल्मको हाल प्रि प्रोडक्शनको काम धमाधम चलिरहेको छ । यो फिल्मलाई नेपाली, हिन्दीका साथै दक्षिण भारतीय भाषामा पनि डब गरिनेछ । फिल्ममा सुवास काले, प्रशान्तकुमार गुप्ता र राजन कुँवरको संयुक्त निर्माण रहनेछ ।

फिल्मको छायांकन केही महिनापछि सुरु हुनेछ । निर्माणपक्षले अब कलाकारहरुलाई अनुवन्धित गर्ने कामलाई अगाडि बढाएको बताए ।

यो फिल्मका लागि नायक प्रदिप खड्काले निकै मिहिनेत पनि गरिरहेका छन् । फिल्म ‘जवान’मा काम गरेपछि सांगेको चर्चा नेपाली दर्शकमाझ पनि निकै छ । यसैले, नेपाली फिल्ममा उनको प्रवेशले नेपालीसँगै भारतीय दर्शकलाई पनि उत्साहित बनाउने पक्का छ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com