सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: नेपाली सिने नगरीकै नामी कलाकारहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको मुख्य अभिनय रहेको फिल्म ‘पुजार सार्की’को चर्चा ट्रेलर सार्वजनिक पछि झनै चुलिएको छ। अहिले फिल्मका कलाकारहरुले आफ्नो आफ्नो तर्फबाट फिल्मको प्रचार गरिरहेका छन। यति बेला फिल्म रावायणको छायांकनमा व्यस्त अभिनेता पल शाहले सामाजिक सञ्जाल फेसबुकबाट आफ्ना प्रशंसकलाई सम्बोधन गर्दै शाहले निर्देशकको दृष्टिकोणबाट आफुलाई सृजनशील तवरले ट्रेलरमा देखाइएको जनाएका छन्।

उनले लेखेका छन्, “निर्देशकको आफ्नो दृष्टिकोणबाट ट्रेलरमा मलाई जति देखाउनु भएको छ, त्यो निकै सृजनशील र कौतुहलता जगाइराख्ने प्रकृतिको छ। फिल्ममा मेरो भूमिकाबारे चासो राख्नुहुने सबैमा जेठ १० गतेदेखि नेपालभरका दर्शकहरूलाई फिल्म हलमा चुले निम्तो दिन चाहन्छु। हामी हलमै भेटौँला है।”

पलले ‘पुजार सार्की’को ट्रेलरलाई एक दिनमा नै दश लाख पटक हेरेकोमा खुसी व्यक्त गरेका छन्। उनले यो फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा उपस्थित हुन नसकेकोमा कारणसहित क्षमा मागेका छन्। “म अर्को फिल्म ‘रावायण’को छायाङ्कनमा जनकपुर र सर्लाहीमा व्यस्त रहेका कारण सो समारोहमा निकै कोसिसका बाबजुद उपस्थित हुन सकिन, त्यसको लागि क्षमा चाहन्छु,” शाहले लेखेका छन्, “मैले यो फिल्ममा अन्य फिल्म भन्दा निकै फरक, जटिल र महत्त्वपूर्ण भूमिकामा अभिनय गरेको छु। ट्रेलरबाट तपाईँले मेरो अभिनयबारे राख्नुभएको चासो र समर्थनप्रति आभारी छु।”

आफूसहित सहकर्मी अभिनेताहरू आर्यन सिग्देल र प्रदीप खड्काको एक तस्बिर शेयर गरी प्रशंसकलाई सम्बोधन गर्ने क्रममा उनले लेखेका छन्, “मेरा प्रशंसकहरूबाट पाइरहेको प्रतिक्रिया र गुनासाहरू मैले हेरिरहेको छु। यो सबैको लागि म धन्यवाद व्यक्त गर्न चाहन्छु। ‘पुजार सार्की’मा मेरो छोटो भूमिका रहेको भन्ने फ्यानहरूको गुनासोबारे म यो प्रस्ट पार्न चाहन्छु कि यो फिल्ममा मेरो स्क्रिन टाइम केही मात्रामा थोरै होला तर अन्य कलाकारहरूको जस्तै महत्त्वपूर्ण भूमिका भने रहेको छ।”

दिनेश राउतले निर्देशन गरेको फिल्ममा पलसँगै आर्यन सिग्देल, प्रदीप खड्का, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको अभिनय रहेको छ। यसका लेखक विकास सुबेदी हुन् भने सुवास भुसालले निर्माण गरेका हुन्।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com