सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: यही बिहीबार रिलिज हुने नेपाली फिल्म ‘पुजार सार्की’ सम्भवतः नेपाली फिल्मको इतिहासमा नै पहिलो पटक रिलिज अगावै दर्शकलाई फिल्म देखाइएको छ। काठमाडौंका विभिन्न स्थानहरूमा एक सय बढी दर्शकमाझ गरिएको सर्भेबाट यो फिल्म देखाइएको निर्देशक दिनेश राउतले बताए।

मङ्गलवार साँझ काठमाडौंको सिडिसि सिनेमा हलमा गरिएको दर्शक विशेष शो मा सय बढी दर्शकको उपस्थिति रहेको थियो। त्यहाँ ‘पुजार सार्की’का कलाकारहरूले पनि फिल्म हेरेका थिए। दर्शक छनोट गर्दा नेपाली चलचित्रलाई एकदमै प्रेम गर्ने, ‘पुजार सार्की’ हेर्न व्यग्र प्रतीक्षा गरिरहेका, पहिलो रोजाइमा ‘पुजार सार्की’ भएका लगायतको दृष्टिकोण राखिएको थियो।

यसरी रिलिज अगावै फिल्म देखाइनुको उद्देश्य चलचित्रप्रति वास्तविक दर्शकको दृष्टिकोणबारे बुझ्नु, आफ्नो फिल्मबारे दर्शकले बुझेको कुरालाई थाहा पाउनु, फिल्म हेरेका दर्शकको प्रतिक्रियाबाट आएका सुझावहरूलाई मनन गरेर दर्शकको चाहना अनुरूप सुधार गर्नु रहेको निर्देशक राउतले बताए।

मङ्गलवार फिल्म हेरेका दर्शकले यो फिल्मलाई अत्यधिक रुचाएका छन्। यी दर्शकबाट यस फिल्मको विषय, कलाकारहरूको सशक्त अभिनय, प्रदीप खड्काको बेजोड भूमिका, आर्यन सिग्देल तथा पल शाहको फरक भूमिका तथा निर्देशकिय क्षमताको खुलेर तारिफ भएको छ।

यस फिल्ममा दर्शकको रोजाइका तीन सुपरस्टार अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गरेका कारण पनि दर्शकको प्रतीक्षामा रहेको छ। ट्रेलर रिलिजसँगै प्रदीपको अभिनयको प्रशंसा भइरहेको छ भने आर्यन र पलले निभाएको फरक भूमिकाको पनि चर्चा भइरहेको छ। फिल्ममा अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय रहेको छ।

वर्ष २०८१ को लागि सर्वाधिक प्रतीक्षामा रहेको ‘पुजार सार्की’लाई दिनेश राउतले निर्देशन गरेका छन्। राउतले यो फिल्मलाई समीक्षात्मक तथा व्यावसायिक दुवै हिसाबले उत्कृष्ट बनाउने आफ्नो प्रयास रहेको जनाएका छन्। ‘प्रसाद’, ‘क्लासिक’, ‘नोभेम्बर रेन’, ‘प्रकाश’ लगायतका सफल फिल्मका निर्देशक राउतले हालसम्म दर्शकलाई निराश बनाएका छैनन्। फिल्मलाई विकास सुवेदीले लेखेका छन्। यसअघि विकास र दिनेशले फिल्म ‘प्रकाश’मा सहकार्य गरेका थिए।

फिल्मलाई सुवास भुसालले निर्माण गरेका हुन्। किङ्गडम नेटवर्कको ब्यानरमा बनेको फिल्म नेपालमा आरआर फिल्मसले वितरण गर्दै छ भने अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दैछ। राजेश श्रेष्ठको डिओपी रहेको ‘पुजार सार्की’लाई भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ तथा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन्। फिल्मको पोस्टर डिजाइन रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेका हुन्।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com