सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: ‘पुजार सार्की’ हेरेपछि पूर्व मन्त्री तथा राष्ट्रिय समाजवादी पार्टीकी उपाध्यक्ष हिसिला यमीले नेपालका राजनीतिक दलहरूले गरेको क्रान्ति भन्दा पनि महान् क्रान्ति ‘पुजार सार्की’ले गरेको बताएकी छन्। बुधवार काठमाडौंको गोङ्गबुस्थित बिएसआर फिल्म हलमा फिल्म हेरेकी हुन्। उनले यो फिल्म हेर्न आफ्नो पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईसहित थुप्रै नेताहरूलाई यो फिल्म देखाउने बताइन्।

फिल्म हेरेर निस्कँदै गर्दा उनलाई धन्यवाद दिन फिल्मका निर्देशक दिनेश राउत, लेखक बिकास सुवेदी, अभिनेता आर्यन सिग्देल, अभिनेत्री अञ्जना बराइली लगायत पुगेका थिए। टिमलाई प्रतिक्रिया दिँदै यमीले छुवाछुत अन्त्यको लागि पनि आर्य खसहरूले नै साथ दिनुपर्ने यो फिल्मले दिएको सन्देशलाई आफूले महान् क्रान्तिको रूपमा लिएको बताइन्। “महिलाको हक हितको लागि महिला मात्र बोलेर हुँदैन, पुरुषले पनि साथ दिनुपर्छ। त्यस्तै, छुवाछुत अन्त्यको लागि पनि आर्य खसहरूले नै साथ दिनुपर्छ र आर्य खसहरूले आफ्नै विरुद्ध लड्नुपर्छ अनि मात्र परिवर्तन सम्भव छ। अहिलेको अवस्थामा दलित मुक्तिको आन्दोलन दलितले मात्रै गरेर हुन्छ भनेर पुग्दैन। परम्परागत राजनीतिक पार्टी काँग्रेस, एमाले वा माओवादी सबैले गरेको क्रान्ति भन्दा पनि महान् क्रान्ति ‘पुजार सार्की’ले गरेको छ,” उनले बताइन्।

यमीले पछिल्लो समयका प्रदर्शन भइरहेका नेपाली फिल्महरूले राजनीतिकर्मीहरूलाई निरन्तर घचघचाउने काम गरेको उल्लेख गरिन्। उनले भनिन्, “अहिले आर्थिक रूपमा असाध्यै तल परिरहेको अवस्थामा मानिसको मनोबल तल गिरिरहेको छ। यस्तो अवस्थामा नेपाली फिल्मकर्मीहरूले हामीलाई घचघचाउने विषयहरू ल्याईराख्नुभएको छ। ‘पुजार सार्की’ले राजनीतिक रूपमा नै छुवाछूतको समस्या समाधान गर्न सकिन्छ भन्ने कुराले हामीलाई राहत दिएको छ। यो विषय अत्यन्त सही तरिकाले यो फिल्ममा प्रस्तुत गरिएको छ। समाज सुधारको सन्दर्भमा अहिले प्रदर्शन भइरहेका फिल्महरूलाई राजनीतिक दल भन्दा पनि उच्च स्थानमा राखेको छु।”

यमीको प्रतिक्रिया लिएपछि यस फिल्ममा ‘पुजारी’को भूमिका निभाएका अभिनेता आर्यन सिग्देलले नीतिमा छुवाछूत गर्न नपाइने रहेको तर नियत खराब भएकाहरूको कारण यो समस्या यथावत् रहेको जनाए। यमीसँग कुरा गर्दै आर्यनले भने, “यस कारण गैर दलितले नै छुवाछूत हुनु हुँदैन भनेर यस चलचित्रबाट आन्दोलन छेड्नु परेको हो।”

जेठ १० गते रिलिज भएको ‘पुजार सार्की’ विश्व बजारमा सफलताका साथ प्रदर्शन भइरहेको छ। फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको प्रमुख भूमिका रहेको छ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com