सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गत कार्तिक ९ गतेदेखि नेपालमा प्रदर्शन भएर दर्शकको मन जितिरहेको निर्माता अर्जुन कुमारको चलचित्र ‘सानो संसार’ अब नेपाल बाहिर पनि प्रदर्शन हुने भएको छ । निर्माता अर्जुन कुमारका अनुसार यो चलचित्रको हङकङ राइट्स सोल्ड आउट भएको छ । निर्माण संस्थाले जनाए अनुसार चलचित्रको अमेरिका तथा जापान राइट्ससमेत सोल्ड आउट भैसकेको छ ।
निर्माता अर्जुन कुमारले मंगलबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्– ‘सुखद समाचार छ है । नमस्त हङकङ, हामी आउँदैछौं तपाईंहरुसंगै बसेर ‘सानो संसार’ हेर्नका लागि । प्रतिक्षा गर्नु होला ।’ कार्तिक ९ गतेदेखि पुनः प्रदर्शनमा आएको यो चलचित्र त्यसअघि असोज ११ गते पहिलो पटक प्रदर्शन भएको थियो । तर, त्यही दिनदेखि परेको अविरल वर्षा तथा त्यसले निम्त्याएको प्राकृतिक विपत्तिका कारण निर्माण संस्थाले चलचित्रको प्रदर्शन स्थगित गरेको थियो ।
दोस्रो पटक प्रदर्शनमा आएको यो चलचित्र अहिले पनि केही सिनेमा हलमा प्रदर्शनरत छ । दुई पटक आयोजित प्रीमियर शोमा सेलिब्रेटी दर्शकहरुको समेत मन जित्न सफल भएको यो चलचित्रलाई अहिले आमदर्शकले समेत उत्कृष्ट चलचित्रको संज्ञा दिइरहेका छन् । चलचित्र हेर्ने दर्शकले यसलाई मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् । अर्जुन कुमार तथा माधव वाग्लेको यो चलचित्रलाई सिद्धार्थ पुडासैनीले निर्देशन गरेका हुन् । यो चलचित्रमा सीतादेवी तिमिलसेना, अञ्जसा रिजाल, अनु दाहाल, राज पंगेनी शर्मा, जीवन गौतम, सरिता भण्डारी, र शिशिर सिवाकोटी लगायतको प्रमुख भूमिका छ ।
प्रतिक्रिया