सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – अभिनेत्री सनी रौनियार अभिनीत चलचित्र ‘दैव संजोग’ मा समावेश चर्चित गीत ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ फेरि दर्शकमाझ आउने भएको छ । चैत २९ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘नरसिंहाः अवतार’ मा उक्त गीतलाई सामेल गरिएको छ ।

पुरानो गीतमा संगीतकार तथा गायक शम्भुजित बाँस्कोटा र गायिका देविका बन्दनाको स्वर थियो । नयाँ भर्सनमा भने शम्भुजित र गायिका रचना रिमालको  स्वर रहेको छ । उक्त गीतको भिडियोलाई ४ दिन लगाएर खिचिएको छ । जरसिंह पौवामा सेट नै लगाएर हिमाललाई काखमा राख्दै यो गीतको भिडियो खिचिएको हो । गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ ।

चलचित्रका निर्देशक दिवाकर भट्टराइले १५ लाख रुपैयाँ खर्च गरेर गीतको भिडियो तयार पारिएको बताए ।  गीतमा फिल्मका मुख्य कलाकारहरु राजेश हमाल, सरोज खनाल, राज कटुवाल, नीति शाह, उषा खड्गी, सनिषा भट्टराइले नृत्य गरेका छन् । चिसो हावामा र धुलो उडेका कारण पनि छायांकनमा केही कठिनाई भएको कलाकारहरुले बताए । तर, दर्शकले  गीतको भिडियोलाई रुचाउनेमा उनीहरु विश्वस्त देखिए । अभिनेता राजेश हमालले यो गीतले आफूलाई फेरि विगतमा फर्काएको भन्दै दर्शकले मन पराउने विश्वास व्यक्त गरे । गीतको भिडियोमा नायक हमाल र अर्का नायक कटुवाललाई कर्नेलको अवतारमा देख्न पाइनेछ ।

चलचित्रमा अभिनेता हमाल र खनालले ३२ बर्षपछि सहकार्य गर्दैछन् । यसैले, दुवैजना गीत छायांकनका क्रममा मिडियासँग उत्साहित देखिए । गीतको भिडियो सय कोरस र त्यती नै संख्यामा दर्शक राखिएको छ । एक्सन र लभ स्टोरी कथामा निर्माण भएको चलचित्रमा दर्शकले विविधता देख्न पाउने विश्वास निर्माणपक्षको छ । अभिनेता कटुवालले सुरु सुरुमा अभिनेता हमालसँग नाँच्दा केही डर लागेपनि पछि सहज भएको बताए । पूर्व मिस नेपाल उषा खड्गीको डेब्यू चलचित्र हो । यसैले, डेब्यू फिल्मलाई लिएर उनको छुट्टै प्रकारको उमंग देखिएको छ । यही चलचित्रबाट अभिनेता हमाल ८ वर्षपछि पर्दामा फर्किदैछन् । दर्शकका लागि हमालको पर्खाई पनि विशेष हुने देखिएको छ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com