सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – अत्याधिक हिंसात्मक दृश्य रहेको भन्दै सेन्सर रोकिएको चलचित्र ‘ताण्डवम्’ सेन्सर पास भएको छ । निर्माण टिमले व्यापक काँटछाँट पश्चात केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) पिजी सर्टिफिकेट दिएको निर्देशक जुनिम गहतराजले बताए ।

अब यो चलचित्र हेर्न १६ वर्ष मुनिका बालबालिकाले अभिभावक साथ लिएर जानु पर्नेछ । चलचित्र अभिनेता समेत रहेका निर्देशक जुनिमले कथाको मर्म नमर्ने गरि चलचित्रको हिंसात्मक दृश्य काटिएको बताए । पहिलो पटक सेन्सर गर्न लैजादा २ घण्टा ६ मिनेट लामो चलचित्रले दोस्रो सेन्सरबाट करिब १ घण्टा ५६ मिनेटको रनटाइम बनाइएको छ । पुरा चलचित्रबाट करिब १० मिनेट रनटाइम घटाइएको निर्देशक गहतराजले जानकारी दिए ।

‘हामीले राम्रो चलचित्र दर्शकलाई पस्किने प्रयास गरेका छौं । दर्शकले पनि मन पराउने विश्वास हामीलाई छ,’ निर्देशक गहतराजले बताए । काँटछाँट गरिएको चलचित्रलाई समेत सेन्सर पदाधिकारीले रुचाएको उनले जानकारी दिए । सेन्सरबाट राम्रो प्रतिक्रिया मिलेकाले दर्शक तथा समीक्षकलाई पनि ‘ताण्डवम्’ मन पर्ने विश्वास निर्देशकको छ ।

चलचित्रको सेन्सर पास भएसँगै आजै अग्रीम टिकट बुकिङ खोल्ने तयारी निर्माण टिमको छ । भोली शुक्रबार फागुन ९ गतेबाट सिनेमा देशभरका चलचित्र घरमा रिलिज हुनेछ ।

चलचित्रमा पुष्कर गुरुङ, प्रेम सुब्बा, जुनिम गहतराज, अंकित खड्का, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय रहेको छ । चलचित्रले एक नव विवाहित जोडी जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरु जीवनमा घट्ने अकल्पनिय घटनाले निम्त्याउने उतारचढावको कथालाई पारिवारिक तथा एक्सन थ्रिलर जनरामा प्रस्तुत गरिएको छ ।

सिंहदेवी प्रोडक्सनले भिजुयल आर्ट्स स्टुडियोको सहकार्यमा निर्माण भएको चलचित्रका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् । हरि घले लामाले खिचेको चलचित्रमा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याग्राउण्ड म्युजिक रहेको छ । चलचित्रको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन् ।

 

 

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com