सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘आउटलः दफा २१९’ चलचित्रको टीजर सार्वजनिक भएसँगै दर्शकहरुको राम्रो प्रतिक्रिया पाएर दर्शकका लागि प्रतिक्षित चलचित्र बनेको छ । केही दिन पछि ट्रेलर सार्वजनिक हुन लागेको चलचित्र निर्माण टिमले ‘न्याय’ शीर्षकमा र्याप प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ ।
स्याडो पिक्चर्स र रिट्रो फिल्मस्को प्रस्तुतिमा बनेको चलचित्रको र्याप प्रतियोगितामा सहभागिता जनाउन चाहनेले ‘न्याय’ शिर्षकमा र्याप गीत तयार पारेर पठाउन सक्नेछन् ।
प्रतिस्पर्धीले गीत लेखेर त्यसलाई रेकर्ड गराएर भिडियो पठाउन सक्ने निर्माण टिमले बताएको छ । प्रतिस्पर्धीले पठाएको भिडियो चलचित्रको सामाजिक सञ्जालमा एकाउन्टमा पोष्ट गरिने छ । सर्वाधिक धेरै लाइक र भ्यूज प्राप्त गर्न सफल प्रतिस्पर्धीले पुरस्कार प्राप्त गर्ने निर्माणपक्षले बताएको छ ।
फागुन २३ गतेसम्म गीतको भिडियो तयार पारेर पठाउनु पर्नेछ । चलचित्रले ‘न्याय’ को कथा बोल्ने भएकाले गर्दा नै यही शिर्षकमा प्रतियोगिता आयोजना गरिएको चलचित्रका निर्माता अमित अग्रहरिले जानकारी दिए ।
चलचित्रमा कलाकारहरु सुशिल श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, विशाल पहारी लगायतकाहरुको अभिनय रहेको छ ।
चलचित्रमा विक्की महर्जनको लेखन तथा निर्देशन रहेको छ भने चलचित्रका लागि विनोद कठायत कार्यकारी निर्माता, विकास चौधरी सह–निर्माताको रुपमा रहेका छन् ।
चलचित्रमा साहिल खानको सम्पादन, चुल्ठे काजीको एक्सन, नविन गुरुङको छायांकन छ ।
चलचित्र फागुनको २९ गतेदेखि प्रदर्शनमा आउने छ ।
प्रतिक्रिया