सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – अनुषा सिनेमावुड पिक्चर्स प्रालिको व्यानरमा निर्माण हुने चलचित्र ‘कुस्ती’ छायांकन प्रारम्भ भएको छ । मंगलवार साँझ काठमाडौंको मातातीर्थमा मुहुर्त पूजा गर्दै अभिनेता धीरज मगर, पुस्कर गुरुङ, लुनिभा तुलाधरको दृश्य खिच्दै चलचित्रको छायाङ्कन प्रारम्भ भएको हो।

कलाकार बुद्धि तामाङले पहिलो पटक निर्माण गर्न लागेको चलचित्र ‘कुस्ती’ लाई लेखक तथा निर्देशक अनिल योञ्जनले निर्देशन गर्दैछन।

निर्देशक योञ्जनले काठमाडौं आसपासमा ४५ दिनको सेड्युल तय गरेर छायाङ्कन सुरू गरेको जानकारी दिएका छन् । ‘सहरको कथा भएकाले हामीले काठमाडौं आसपासमा छायाङ्कन गर्नेछौँ । सम्बन्धमा रहेको एक जोडीको कथा रहेको चलचित्रमा उनीहरु एक–अर्कालाई धेरै माया गर्छन्, तर आ–आफ्नो स्वभावले गर्दा एकसाथ रहन कठिनाईको सामना गरिरहेका हुन्छन् । दर्शकले यो जोडीबाट गर्ने अपेक्षालाई पूर्ण गर्ने हाम्रो प्रयास रहने छ’, निर्देशक योञ्जनले भने ।

चलचित्रमा कलाकारहरु धीरज मगर, मिरुना मगर, बुद्धी तामाङ, दीकिला शेर्पा, रवीन्द्र झा, पुस्कर गुरुङ, राजाराम पौडेल, किरण केसी, लुनिभा तुलाधर, सूर्यमान लिम्बू, अरविन गुरुङ, रजनी गुरुङ, सुवर्ण थापा लगायतकाको अभिनय रहेन छ ।

चलचित्रमा उमङग शाहीको छायाङ्कन,मित्रदेव गुरुङको सम्पादन,दीपक शर्मा,अनिल योञ्जन,कल्याण सिंहको सङ्गीत, शिशिर खातीको नृत्य निर्देशन रहनेछ । डिजिटल पार्टनरको रुपमा ओएसआर डिजिटल रहेको फिल्ममा अभिनेता धीरज मगर तथा अभिनेत्री मिरुना मगरको ड्रेस डिजाइन आइआइएफटीः स्कूल अफ फेसन डिजाइनले गरिरहेको छ भने बोमी राईले स्टाइलिस गरेका छन् ।

चलचित्रको प्रदर्शनका लागि काठमाडौंमा रिच इन्टरटेनमेन्ट तथा एप्पल इन्टरटेनमेन्ट तथा मोफसल एफडी कम्पनिले वितरण गर्ने छ। चलचित्र भदौमा प्रदर्शन हुनेछ ।

 

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com