सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – अभिनेता दिव्य देव पछिल्लो समय निर्माता र निर्देशकको रोजाईको कलाकारमा पर्छन् । चलचित्रहरुमा सकारात्मक र नकारात्मक दुवै चरित्रमा देखिँदै आएका दिव्य देव यही चैत २९ गतेबाट रिलिज हुने चलचित्र ‘पिताम्बर’मा खलनायक चरित्रमा देखिँदैछन् ।
दिव्य देव ‘पिताम्बर’मा ‘राहुल’को भूमिकामा देखिँदैछन् । ‘मैले यसअघि कमर्सियल किसिमको चलचित्र गरेको थिइनँ । यो लेभलको चलचित्रमा पहिलोपटक काम गरेको हुँ’, उनी भन्छन्, ‘चलचित्रमा मेरो फूल अन भिलेन अर्थात खलनायक चरित्र छ । मेरो लुक्स, पहिरन, तराईको परिवेश अनुसार भ्वाइस छ । म चलचित्रमा क्रुर किसिमको छु । यो कथाभित्र म पात्रले जे काम गर्छ, त्यसले मेन प्रोटागोनिस्टको लाइफमा असर पार्छ । कथाको यात्राभित्र छिर्न उसले मुल क्यारेक्टर निभाएको हुन्छ ।’
चलचित्रको क्यानभास नवलपरासीको परासी वरपर रहेकाले चलचित्रमा रहेका अन्य भिलेन साथीहरुजस्तै आफू पनि एक ठाउँको भिलेन रहेको दिव्यदेव खुलाउँछन् । ‘चलचित्रमा मैले जुन चरित्र निभाएको छु, त्यो चरित्र किन यस्तो भयो ? उसले किन यस्तो क्रियाकलाप गर्छ । मैले निर्देशकलाई सोध्दै आफूले पनि सम्झँदै मेरो चरित्रको खाका बनाएको थिएँ । जुन यो चलचित्रमा देखाएको छु’, उनी भन्छन् ।
निर्देशक कृषा चौलागाईंको सहयोगले पनि आफूले क्यारेक्टरलाई विकसित गराउन सकेको दिव्य देव दाबी गर्छन् । ‘कृषाले मलाई क्यारेक्टरको बारेमा विस्तृत बताउनुभएको थियो । उहाँलाई केही सोध्दा पनि घुमाउरो खालको उत्तर आएन । त्यसबाट म प्रभावित भएँ । सेटमा गइसकेपछि उहाँको काम गर्ने शैली, नेतृत्व क्षमताले पनि प्रभावित भएँ’, दिव्य देव भन्छन् ।
दर्शकका लागि ‘पिताम्बर’मा देखिएको आफ्नो चरित्र नयाँ लाग्ने उनको दाबी छ । ‘क्यारेक्टर, लुक्स, पहिरन र भिलेन चरित्र दर्शकका लागि फरक छ । दर्शकले दिव्यदेव यस्तो चरित्र पनि गर्दो रहेछ भन्ने अनुभव लिन्छन् । मलाई जतिसक्दो फरक क्यारेक्टर नै गर्न मन लाग्छ ।’ उनी भन्छन् ।
प्रतिक्रिया