सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । ‘नारी टेलिभिजन’ले गत आइतबार काठमाडौंमा ‘भित्रको सौन्दर्य : उमेरको घेराभन्दा परको सौन्दर्य र रजोनिवृत्ति’ विषयक विशेष छलफल कार्यक्रम आयोजना गरेको छ ।

सञ्चारकर्मी सबिना कार्कीको सञ्चालनमा भएको कार्यक्रममा फिल्म निर्देशक सम्झना उप्रेती रौनियार, अभिनेत्री श्वेता खड्का, राजनीतिज्ञ भूमिका श्रेष्ठ, प्राध्यापक डा. सबिना भट्टराई र डा. उषा खनाल वक्ताका रूपमा सहभागी थिए ।

कार्यक्रममा महिलाको सौन्दर्यलाई उमेरको सीमाभन्दा बाहिर हेर्ने दृष्टिकोण, रजोनिवृत्तिका क्रममा महिलाले भोग्ने शारीरिक तथा मानसिक परिवर्तन र यस विषयमा समाजमा हुने बहसबारे छलफल गरिएको थियो ।

कार्यक्रममा निकिता पौडेल र अनुपा श्रेष्ठजस्ता महिला नेतृत्व तथा अभिनेत्री वसुन्धरा भुसाल, भुवन चन्द, पुष्पा थिङ लामा र झरना शाक्यलगायत विभिन्न क्षेत्रका पत्रकार तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

महिलाको स्वास्थ्य, आत्मविश्वास, सौन्दर्य र उमेरसँग जोडिएका सामाजिक धारणाबारे सहभागी वक्ताहरूले आफ्ना अनुभव तथा विचार प्रस्तुत गरेका थिए । कार्यक्रममा रजोनिवृत्तिलाई महिलाको जीवनको स्वाभाविक चरणका रूपमा बुझ्नुपर्ने तथा यसबारे खुला रूपमा संवाद गर्नुपर्ने विषयमा समेत जोड दिइएको थियो ।

विभिन्न क्षेत्रका महिला सहभागीको उपस्थितिमा भएको कार्यक्रम अर्थपूर्ण र घनीभूत छलफलसहित सम्पन्न भएको आयोजकले जनाएको छ ।

तस्बिरहरू : बिकास रौनियार

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com