सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गत चैत्र २२ गते शुक्रबारबाट प्रदर्शनमा आएको प्रकाश सपुतको डेव्यु निर्देशित चलचित्र ‘वसन्त’ले सुखद् व्यापार गरिरहेको छ । दर्शकबाट चलचित्रलाई उत्कृष्ट वर्डअफ माउथ मिलेको छ । चलचित्रले उठाएको विषयवस्तु, गीतसंगीत पक्ष र प्रस्तुतिको प्रशंसा दर्शकले गरिरहेका छन् ।

यो चलचित्र हेर्न पुगेका दर्शकहरूलाई प्रकाशले केही सरप्राइज पनि दिएका छन् । जसमा महानायक राजेश हमाल लगायतका केही नाम चलेका कलाकारलाई दर्शकले हेर्न पाउँछन् । महानायक हमाललाई धेरैपछि चलचित्रको पर्दामा देख्दा दर्शकहरू सरप्राइज हुन्छन् । महानायक हमालसहित अभिनेताहरू दीलिप रायमाझी, निश्चल बस्नेत, नाजिर हुसेन, अभिनेत्रीहरू करिश्मा मानन्धर, केकी अधिकारी, प्रियंका कार्की, सुरक्षा पन्तलाई चलचित्रको पर्दामा देख्न सकिन्छ ।

उनीहरुसँगै चलचित्रमा लोकदोहोरीकी अहिलेकी चर्चित गायिका शान्तिश्री परियार, मोडल अञ्जली अधिकारी समेतलाई हेर्न सकिन्छ । ‘वसन्त’मा यति धेरै चर्चित कलाकारहरूको अभिनय रहेपनि निर्देशक तथा अभिनेता प्रकाश सपुतले यसबारे प्रदर्शनअघि कुनैपनि जानकारी दिएका थिएनन् । चलचित्र रिलिज पश्चात यी कलाकारहरूको दृश्यको भिडिओ क्लिप टिकटकमा समेत भाइरल भइरहेका छन् ।

कतिपयले यति ‘वसन्त’मा धेरै कलाकारहरूको विशेष भूमिकामा रहेपनि निर्देशक तथा अभिनेता प्रकाशले किन रिलिजअघि खुलाउन चाहेनन् भन्ने चासो समेत राखिरहेको सार्वजनिक फेसबुक रिल्स र टिकटकमा व्यक्त गरेका छन् । प्रदर्शनअघि यी कलाकारको बारेमा जानकारी दिएको भए यसले चलचित्रको व्यापारमा समेत प्रभाव पार्ने धारण दर्शकको छ । यी कलाकारहरूको भूमिका कस्तो छ र कति महत्त्वपूर्ण छ त्यो भने हलमा सिनेमा हेर्न पुगेका दर्शकले महसुस गर्छन् ।

चलचित्र ‘वसन्त’मा प्रकाशसहित स्वस्तिमा खड्का, खड्गबहादुर पुन (खबपु), प्रभात पाल ठकुरी, श्री शिभांसी, उर्मिला लाम्गादे, अनुप बराल, प्रकाश घिमिरे लगायत कलाकारको अभिनय छ । मोहन विश्वकर्मा र बिन्दु बोहोरा निर्माता तथा कार्यकारी निर्मातामा बिरेन्द्र नारायण श्रेष्ठ, अनुरोध भट्टराई र नाना थकाली छन् ।

 

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com