सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – यहि असार २१ गते देखि साउन ४ गतेसम्म काठमाडौंको थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘हराएको कुकुर’ मञ्चन हुनेभएको छ। मणि कुलुङ राईको कथा र निर्देशन रहेको सो नाटकका नाटक रूपान्तरण रबिन तामाङले सम्हालेका छन्।
नाटक ‘हराएको कुकुर’ले एउटा गम्भीर सामाजिक–राजनीतिक कथा बोकेको देख्न सकिन्छ। सतही रूपमा कुकुर हराएको सामान्य घटनाबाट सुरू हुने यो कथा क्रमशः एउटा गम्भीर सामाजिक र राजनीतिक विमर्शमा रूपान्तरण हुन्छ। नाटकको सुरुवातमा एक कुकुर हराउँछ। ‘सानो माछा ढडियामा, ठूलो माछा बढिएमा’ भन्ने जनकथन यहाँ कानुनी प्रणालीको वास्तविक अनुहार बनेर प्रस्तुत हुन्छ। निर्दोष जनताले अन्यायको विरोध गर्दा उनीहरूलाई नै अपराधी ठहर गरिन्छ। अनुसन्धान गर्ने निकायहरू निष्पक्षता गुमाएर शक्तिशाली पात्रहरूका आज्ञाकारी बन्न पुग्छन्। प्रमाणहरू हराइन्छन्, घटना ढाकछोप गरिन्छ, र सत्यको स्वर दबाइन्छ। नाटकको उत्कर्षमा हराएको कुकुर भेटिन्छ, जुन दृश्यले एउटा समाधान प्रस्तुत गरेजस्तो देखिए पनि नाटकका मूल प्रश्नहरू अझै अनुत्तरित रहन्छन्। हराएको कुकुर वास्तवमा राज्यद्वारा हराइएको सत्यको प्रतीक हो।
नाटक ‘हराएको कुकुर’ले दर्शकहरुलाई थुप्रै प्रश्नहरुको बीचमा ल्याउन सक्छ, के साँचो न्याय कहिल्यै भेटिन्छ त ? के नागरिक आवाजको दमनलाई राज्यद्वारा वैधता दिन सकिन्छ ? आदि….
नाटकका कलाकारका रुपमा किरण नेपाली, स्मृती कल्मर, रेज्मी राई, इन्द्रेनी कुलुङ, रमा कुलुङ, अविनास डि. एम., मिना श्रेष्ठ र मणि कुलुङ रहेका छन्।
नाटक ‘हराएको कुकुर’ एउटा सरल खोजीको कथा मात्र होइन, यो सत्ताको आलोचना गर्ने, नागरिक चेतनालाई झकझक्याउने, र संरचनागत अन्यायलाई प्रश्न गर्ने एक गहिरो नाट्य रूपान्तरण हुनसक्छ।
प्रतिक्रिया