सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – अभिनेत्री तथा निर्देशक नीता ढुङ्गानाको निर्देशनमा निर्माणाधीन नेपाली चलचित्र ‘सुख–दुख’ मा भारतीय छायाँकार कबीर लाल र शाहिद लाल अनुबन्धित भएका छन्। आइतबार निर्माण पक्ष र उनीहरूबीच औपचारिक सम्झौता भएको हो।

कबीर लालले तेलुगु, तमिल, कन्नड र हिन्दी भाषाका ८० भन्दा बढी चलचित्रमा छायाँकारका रूपमा काम गरिसकेका छन्। शाहिद लालले मुख्यतः कन्नड र तेलुगु चलचित्रहरूमा छायांकन गरेका छन्। बलिउड र दक्षिण भारतीय फिल्म क्षेत्रमा लामो अनुभव भएका उनीहरूलाई ढुङ्गानाको दोस्रो निर्देशनमा अनुबन्ध गरिएको हो।

चलचित्रको वितरण अधिकार उपत्यकाबाहिर एफडी कम्पनीले लिएको छ भने उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले पाएको छ। निर्देशक ढुङ्गानाले उपत्यका बाहिरका लागि छविराज ओझा र उपत्यकाभित्रका लागि करण श्रेष्ठलाई वितरणको जिम्मा दिएको जानकारी दिइएको छ।

चलचित्रको निर्माण व्यवस्थापन शंकर पाण्डेलाई दिइएको छ। निर्देशक ढुङ्गानाले प्राविधिक पक्षमा प्राथमिकता दिँदै हालसम्म कलाकारबारे जानकारी सार्वजनिक गरेकी छैनन्।

‘मलाई निर्देशकको रूपमा विश्वास गर्नु भएकोमा सबैलाई मनदेखि धन्यवाद। ‘सुख–दुख’ हाम्रो सांस्कृतिक भावना र कथामा नयाँ आयाम थप्नेछ,’ निर्देशक ढुङ्गानाले भनिन्।

‘नीता फिल्म्स’को व्यानरमा बन्न लागेको चलचित्र आगामी वर्ष दशैंको फूलपातीका अवसरमा प्रदर्शनमा ल्याइने तयारी छ। यसअघि नीता ढुङ्गानाले निर्माण गरेको पहिलोचलचित्र ‘ह्रस्वदीर्घ’ सफल भएको थियो।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com