सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नयाँ वर्ष २०८३ सालको पहिलो दिनमा नायिका पूजा शर्माले नयाँ चलचित्र निर्माणको घोषणा गरेकी छिन् । नाईटिङ्गेल ईन्टरटेन्मेन्ट प्रा.लि र पूजा शर्मा प्रोडक्सको निर्माणमा तयार हुन लागेको चलचित्रको नाम ‘रत्यौली’ राखिएको छ ।
चलचित्रमा नायिका पूजा शर्मा र नायक विजय बरालको जोडी बाँधिने पक्का भएको छ । विजय र पूजाले चलचित्रको पर्दामा पहिलो पटक काम गर्न लागेका हुन् ।
मुस्कान ढकालको निर्देशनमा तयार हुने चलचित्रलाई सुरज आचार्यले निर्माण गर्दैछन् । १ सय भन्दा बढी नेपाली चलचित्रमा प्रोडक्सन डिजाइनरको रुपमा काम गर्दै आएका सुरज आचार्यले सुपरहिट भारतीय चलचित्रमा पनि लाइन प्रोड्यूसरको रुपमा काम गरेका छन् । उनले, ‘उचाई, फर्जी, मिराई, टिसोन नाइडु, दश का दम’ लगायतका चलचित्रमा लाइन प्रोड्यूसरको रुपमा काम गरिसकेका छन् । उनै, सुरज ‘रत्यौली’ निर्माणमा अगाडि सरेका हुन् । ३२ वर्षदेखि चलचित्र क्षेत्रमा सक्रिय सुरज आचार्यले ‘मेरो लभ स्टोरी, कर्मयोद्धा’मा सह–निर्माता र ‘वरमाला’मा निर्माताको रुपमा काम गरिसकेका छन् ।

सार्वजनिक पोष्टरमा विजय र पूजा रत्यौलीमा नाँचिरहेको देख्न सकिन्छ । पूजाले दौरा सुरुवाल र नेपाली टोपी लगाएकी छिन् । साथै, उनको ओठमा जुँगा देख्न सकिन्छ । यसबाट पनि चलचित्र रमाइलो बन्ने विश्वास गर्न सकिन्छ ।
चलचित्रको बिषयमा अरु केही पनि खुलाइएको छैन । पहिलो पटक चलचित्रको पर्दामा देखिन लागेका विजय र पूजाको जोडी दर्शकका लागि चासो रुपमा रहने पक्का देखिएको छ ।




प्रतिक्रिया